८ मंसिर २०८१, शनिबार

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
  • रासस

बाँके\गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेको लुम्बिनी विकास कोषले बताएको छ ।

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महीनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बनी आएको कोषको सूचना शाखाले बताएको छ । उक्त संख्या विगत वर्षको भन्दा बढी हो । यहाँ आउने आन्तरिक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ ।

पछिल्लो एक महीनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले बताएको छ । कोभिड–१९ को त्रासका कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनीमा भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटक आउने क्रम समेत बढेको छ ।

प्रचारप्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एशोसिएशनका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनी आउने पर्यकटका लागि सरकारले विशेष सुविधा र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

धार्मिक र आध्यामिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने अन्य पर्यटक यहाँको सौन्दर्यसँग रमाउन आउने गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यावसायीलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

कोभिडका कारण लामो समय चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमनले चहलपहल बढेको छ ।

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech