आगामी मङ्सिर ४ गते संघीय र प्रदेश संसद्का लागि आमनिर्वाचनको घोषणा भएको छ र दलहरू उम्मेदवार चयनको प्रक्रियामा छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । वृद्ध पुस्तालाई धन्यवाद दिँदै बिदा गरौं भन्ने अभियान सामाजिक सञ्जालमा चलाइएको पनि छ । यस्तोमा राजनीतिक दलका युवा नेताहरूले पुरानो पुस्तालाई सम्मानका साथ अभिभावक बनाएर आफू नेतृत्वमा आउन हिम्मत गर्नुपर्छ ।
देशले युवा नेतृत्व खोजेको छ । पुराना नेतृत्व सबै परीक्षित भइसकेका हुन् । तिनबाट योजनाबद्ध काम हुने अपेक्षा गर्नै सकिँदैन । साथै, नयाँ काम पनि हुने अपेक्षा छैन । सत्तामा किन बस्ने भन्ने कुराको समेत चित्तबुझ्दो जवाफ छैन । न कुनै योजना छ न त आफूले गर्ने कामको रोडम्याप नै । अहिले देखिएका कैयन् नेता स्वास्थ्यका कारणले पनि कमजोर भइसकेका छन् ।
खालि पेन्सन बुझ्ने कर्मचारीजस्तो आत्मसन्तुष्टिका लागि मात्रै उनीहरू नेतृत्वमा आउन चाहिरहेका देखिन्छन् । त्यसैले यो प्रौढ पुस्तालाई राजनीतिक नेतृत्वबाट बिदाइ गर्नुपर्ने देखिन्छ । विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुँदा निकै ठूलो क्रान्तिकारी कदम चालेका थिए । त्यति बेला उनी युवा थिए । त्यसैले क्रान्तिकारी योजना ल्याएका थिए । देशलाई यस्तै साहसी युवाको नेतृत्व आवश्यक देखिएको छ ।
युवा नेताहरूले सरकारमा बस्दा केही न केही आशाप्रद काम गरेका पनि हुन् । चाहे नेपाली कांग्रेसको होस् वा एमालेको, युवा मन्त्रीहरूको कार्यशैली फरक थियो र केही उपलब्धि पनि प्राप्त भएकै थियो । त्यसैले त्यो युवा वर्गले शासनसत्ता समाले पक्कै पनि केही नयाँको अनुभूति हुनेछ र काम पनि निकै राम्रा हुनेछन् । तर, एकपटक नेतृत्वमा पुगेपछि अरूलाई पद सुम्पनै नचाहने खराब प्रवृत्ति नेपाली राजनीतिमा पाइन्छ । यही प्रवृत्तिका कारण युवाहरू दलको नेता बन्न नसकिरहेको अवस्था छ । युवा नेताहरू पनि पुराना नेताहरूको पिछलग्गु हुने बानी छ । अर्थात् पार्टीभित्र नेतृत्व लिन हिम्मत देखाइरहेका छैनन् । अवसर पाइन्छ कि भनेर नेताहरूको मुख ताकेर बस्ने, गुटबन्दीमा रमाउने गरेको पाइन्छ । युवाले साहस देखाए पार्टी पंक्तिमा बलियो समर्थन पाउने अवस्था छ ।
नेपाली कांग्रेसमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले हिम्मत देखाए, जसका कारण दुई अलगअलग समूहबाट उम्मेदवारी दिए पनि दुवैले विजय प्राप्त गरे । यसले देखाउँछ युवाले साहस गरे पार्टीभित्र बाटो बनाउन सकिन्छ । यदि उनीहरू पाका नेताले के भन्छन् भनेर पर्खेको भए केही हात लाग्नेवाला थिएन । त्यसैले आगामी निर्वाचनका लागि युवाहरूले त्यो प्रयास गर्नुपर्छ ।
नेपाली कांग्रेसका युवानेता गगन थापाले आफू प्रधानमन्त्रीको आकांक्षी भएको घोषणा गरिसकेका छन् । यस घोषणामा उनी कत्तिको दरोसँग उभिन सक्छन्, त्यो समयले बताउनेछ तर युवाहरू ढुक्कसँग अगाडि आउनुपर्छ । अहिलेको नेतृत्वमा रहेकाले पदमा आउन दिँदैनन् भने नेतृत्व खोस्ने आँट पनि युवामा हुनुपर्छ । पार्टीले उम्मेदवार बन्ने अवसर दिँदैनन् भने पनि विद्रोह गरेरै निर्वाचनमा भाग लिनुपर्छ ।
स्वतन्त्रले पनि निर्वाचन जित्न सक्छन् भन्ने उदाहरण काठमाडौं महानगरपालिकादेखि, धरान, धनगढी, जनकपुर उपमहानगरपालिकाका मेयर नै पर्याप्त छन् । सबै पार्टीमा रहेका युवाले अब पनि यस्तो हिम्मत नगर्ने हो भने देशको प्रगतिमा झनै बाधा पर्छ । त्यसका लागि युवा नेताहरूले अन्तरपार्टी संघर्ष चलाउनैपर्छ ।
यहाँनेर अर्को बिर्सनै नहुने कुरा के हो भने अहिले युुवा भनेर चिनिएकाले पनि केही वर्षपछि पदमा बसिरहने गतिविधि दोहर्याउनु हुँदैन । युवा अघि बढ्नुपर्छ भनेको अहिले चर्चामा रहेका युवालाई देखेर होइन । अहिले युवा भनेर चिनिएका पनि केही समयपछि वृद्ध हुन्छन्् नै त्यस्तो बेला उनीहरूले पनि पदको लोभ गर्नु हुँदैन, त्यतिबेला अर्को पुस्ताले जिम्मेवारी लिनुपर्छ । यस्तो कुरालाई मनन गरी युवाले अब अधिकार नपाएको गुनासो नगरी नेतृत्व खोस्ने अभियानमा जुट्नुपर्छ । युवाले नेतृत्व खोसेको देखिन आवश्यक भइसकेको छ ।