२३ मंसिर २०८२, सोमबार

हिमालयन बैंकको लापरबाही : १८ दिनसम्म पनि चलेन मोबाइल एप

प्रविधि सुधार बहानामा सेवाको पहुँच रोक्नु ग्राहकको हक हनन हो।

  • न्युज मानसराेवर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त हिमालयन बैंक लिमिटेडको चरम लापरबाही र गैर–जिम्मेवारीपनका कारण यसका सेवाग्राही मर्कामा परेको पाइएको छ। लामो समयदेखि बैंकका डिजिटल सेवा (विशेषगरि मोबाइल एप र ईन्टरनेट बैंकिङ) नचल्दा हजारौं ग्राहकले आर्थिक कारोबारमा गम्भीर समस्या भोगिरहेका छन्।

कार्तिक २ गते सम्म बैंकले आफ्ना सबै ग्राहकहरूलाई मोबाइल SMS, App Push Notification र इमेलमार्फत “Core Banking Software Upgrade” सम्बन्धी सूचना जारी गरि कार्तिक ३ गतेदेखि १० गतेसम्म ATM, POS र QR सेवाबाहेक अन्य सेवा उपलब्ध नहुने भनिएको थियो। तर, उपलब्ध हुने भनिएका ती सेवाहरू पनि त्यस बिच निरन्तर सञ्चालन हुन सकेनन्। यहाँ सम्म कि नेपालीहरुको मुख्य चाड तिहारको समयमा पनि आफ्नो खाताको पैसा झिक्न वा प्रयोग गर्न पाएनन्।

कार्तिक ११ गतेसम्म ग्राहकले सेवा सुचारु हुने प्रतीक्षा गरेपछि बैंकले फेरि अर्को सूचना जारी गर्‍यो, “मुख्य सेवाहरु सुचारु भएपनी Mobile Banking र Internet Banking अझ स्तरिय, सुरक्षित र गुणस्तरीय बनाउन अस्थायी रूपमा बन्द रहनेछ।” तर पछिल्लो सूचना जारी भएको पनि आज (कार्तिक २०) आठ दिनपछि पनि ईन्टरनेट बैंकिङ तथा मोबाइल एप सेवा सुचारु गर्न बैंक असफल रह्यो। डिजिटल सेवाको लामो अवरोधका कारण अनलाइन कारोबारमा अभ्यस्त हुँदै गरेका ग्राहक बिल भुक्तानी, रकम ट्रान्सफर, Top Up लगायत दैनिक गतिविधि प्रभावित बनिरहेका छन् ।

यसबीच, सामाजिक सञ्जालहरूमा बैंकसम्बन्धी विभिन्न गुनासो र असन्तुष्टि सार्वजनिक भए। तर बैंकले स्पष्ट जवाफ दिनुको सट्टा आफ्ना आधिकारिक फेसबुक पोस्टमा “कमेन्ट बन्द” गर्दै आलोचनालाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप ग्राहकहरूले लगाएका छन्। यति सम्म कि अहिले त बैंकले अघिल्ला फेसबुक पोस्टहरुमा समेत कमेन्ट नै गर्न नमिल्ने बनाएको छ।

“हामीले १८ दिनदेखि बैंकको एप चलाउन सकेका छैनौं, बैंकको १८ गते प्राप्त पछिल्लो निर्देशनअनुसार (email मा पठाएको) नयाँ मोबाइल एप डाउनलोड गरेर पुरानै विवरण प्रयोग गरी Login गर्ने प्रयास गर्‍यौं, तर कहिल्यै Login हुन सकेन, यत्तिको ठूलो बैंकको के हो यो हरिबिजोग?” एक ग्राहकले आफ्नो निराशा न्यूज मानसरोवर सँग व्यक्त गरे ।

कार्तिक १८ गते बैंकले SMS र इमेलमार्फत “नयाँ संस्करणको मोबाइल एप उपलब्ध भएको” जानकारी दिँदै ग्राहकलाई पुरानै विवरण प्रयोग गरेर Login गर्न सुझाएको थियो। तर, हालसम्म पनि धेरै प्रयोगकर्ताले बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा उपयोग गर्न नसकेको गुनासो गरिरहेका छन्।

यस घटनापछि पनि बैंकले ग्राहकहरूलाई ठोस स्पष्टीकरण दिएको छैन। न त नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले नै यसबारे कुनै टिप्पणी गरेको छ। राष्ट्र बैंक एउटा सामान्य निजि बैंकको यस्तो चरम लापरबाही किन टुलुटुलु हेरिरहेको छ भन्ने जनमानसमा जिज्ञासा बढिरहेको पाइएको छ।

वित्तीय प्रणालीमा प्रविधि सुधारका नाममा देखिएको यस्तो चरम लापरवाहीले ग्राहकको विश्वासमा ठुलो आघात पुगेको विशेषज्ञहरूको भनाइ छ। “प्रविधि सुधार बहानामा सेवाको पहुँच रोक्नु ग्राहकको हक हनन हो,” एक बैंकिङ विज्ञले भने।

हाल हजारौं ग्राहकहरू मोबाइल एपको सेवा पुनः सुचारु हुने प्रतीक्षामा छन्। तर, बैंकको आधिकारिक प्रतिक्रिया भने अझै अस्पष्ट छ। ऊ त केबल आश्वासन दिंदै भ्रमको खेती गरिरहेको छ। यस्तो गैह्रजिम्मेवारीपूर्ण बैंकलाई तत्काल स्पष्टीकरण माग गरि आवश्यक कारबाही गरि भविष्यमा यस्ता घटना नदोहोर्‍याउन नियामक निकायले बेलैमा ध्यान दिनु जरुरी छ।

नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग प्रशंसनीय भए पनि त्यसको व्यवस्थापन र जवाफदेहिता समान रूपमा बलियो हुन आवश्यक छ। ग्राहकको विश्वास र सुविधामाथि प्रयोग हुने लापरवाहीले प्रणालीमै प्रश्न उठाउँछ।

  • २१ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech