बाँके\नेकपा एमालेले बाँकेमा निर्वाचित केन्द्रीत अभियानलाई तिव्रता दिएको छ । क्षेत्र नम्बर ३ मा क्षेत्र र प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी बनेपछि वडा तहमा पनि निर्वाचन परिचालन कमिटी बनाउन शुरु गरिएको छ ।
शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर ४ मा जिल्ला कमिटी सदस्य देवराम विसीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
वडा कमिटीका अध्यक्ष वलबहादुर कठायतको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधीसभा सांसदका उम्मेदवार तथा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले क्षेत्रको विकास र समृद्धिका लागि एमालेको विजय आवश्यक भएको बताए । एकमना एकताका साथ पार्टी निर्वाचनमा होमिएको भन्दै उनले विगतबाट पाठ सिक्दै अगाडी बढेको बताए ।
खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा देशमै नमूनायोग्य काम गरेको भन्दै उनले संघीय संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । प्रदेशसभा सांसदका उम्मेदवार भिम वलीले एमालेले जनताका बीचमा भेटिने ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै मतदाताको आकर्षण एमालेमा भएको दावी गरे ।
कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख तथा प्रदेशसभा निर्वाचन परिचालन कमिटीका संयोजक सतिश निरौला, जिल्ला कमिटी सदस्य तिलकविर सुनार, निर्मलखनाल लगायतले एमाले उम्मेदवारलाई जिताउन सबै लागिपर्ने बताए । बैठकले ईगाउँमा वडा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा एमाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश उम्मेदवारहरुले बाँके क्षेत्र न ३ का मतदाताहरु सँग भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन।