१५ पुष २०८१, सोमबार

जातीय विभेद उन्मूलनका लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले जातीय विभेद उन्मूलनको लागि आफू सदैव अग्रपङ्तिमा रहने प्रतिवद्धता जनाएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगरस्तरीय भेलामा दलितको समस्या र चुनौतीहरुसँग आफू नजिक रहेको बताउँदै उनले दलितका समस्या समाधानका लागि सदैव अग्र मोर्चामा आफू निरन्तर लागिरहने बताए ।

उनले जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुँदा राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने उल्लेख गरे ।

समाजमा रहेका सचेत व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान गर्न निरन्तर लाग्ने बताउँदै उनले समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाई लड्ने र पीडकहरूलाई सजाय दिने कार्यमा आफू कहिले नझुक्ने प्रष्ट पारे ।प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको बताउदै शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सहज पहुँच पुर्याउन आफ्नो अतुलनीय भूमिका रहने बताए ।

कार्यक्रममा प्रदेश तर्फका समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार लगायतका एमाले नेताहरुले जातीय विभेद अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यान्वयन हुन् जरुरी रहेको कुरा बताएका छन् ।

उनीहरुले जातीय विभेद अन्त्यका लागि दलित र गैर–दलित समुदायको अवाज एक हुन् जरुरी रहेको समेत बताए । कार्यक्रममा गन्धर्व समुदायको तर्फबाट निर्वाचन केन्द्रित गितसमेत प्रस्तुत गरिएको थियो । गितमा आफ्ना समस्या अनि उम्मेदवारको लागि मतदान आह्वान गरिएको थियो ।उम्मेदवार सुर्य ढकाललाई विजयी बनाउनकाे लागि १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन समेत गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका बाँके इन्चार्ज डिल बहादुर परियारले जानकारी गराए ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech