४ माघ २०८१, शुक्रबार

निर्यातमा गुणस्तर अभिवृद्धि
  • कृष्णराज बजगाईं

सूचना र प्रविधिले एकल ग्राममा रूपान्तरण हुँदै आएको वर्तमान विश्वमा अन्तरराष्ट्रिय व्यापारको प्रवाहमा पनि सोहीअनुरूप वृद्धि हुँदै आएको छ । आईटीसी टे«डम्यापका अनुसार सन् २००२ मा ६ दशमलव ६१ ट्रिलियन यूएस डलर बराबरको विश्व आयात व्यापार रहेकोमा उक्त आँकडामा करीब ३ दशमलव ३ गुणाले वृद्धि भई सन् २०२१ मा २२ दशमलव २१ ट्रिलियन यूएस डलर पुग्न गएको छ ।

विश्व व्यापार संगठनको स्थापनासँगै खुला हुँदै गएको विश्व व्यापार भन्सार दरका आधारमा हेर्दा पारदर्शी र अनुमानयोग्य रहेको छ ।

परन्तु गुणस्तरका प्रावधानहरू विश्व व्यापारमा प्रमुख सरोकारका रूपमा देखापरेका छन् । सारमा भन्नुपर्दा भन्सार दरभन्दा गैरभन्सार प्रावधानहरू विश्व व्यापारलाई प्रभावित गर्ने प्रमुख कारक तत्त्वका रूपमा देखापरेको छ । सूचना प्रविधिको विस्तार र आम पहुँचले मालवस्तुको ओसारपसार र सेवाको प्रवाहमा मात्र विस्तार भएको छैन परन्तु जनतामा गुणस्तर सम्बन्धी सरोकारमा पनि पहुँच स्थापित भएको छ । सोही अनुपातमा सम्बद्ध देशका सरकारहरू पनि गुणस्तरका सम्बन्धमा पहिलेभन्दा अझ बढी संवेदनशील हुन थालेका छन् ।

विभिन्न गैरसरकारी संघसंस्था, पैरवी गर्ने निकायहरू, उपभोक्ता समूह तथा उपभोक्ता हितकारी संघगसंगठनका कारण पनि गुणस्तरीय वस्तुहरूको उपभोगमा जनताको चासो र चिन्ता अझ बढेको छ । यसअतिरिक्त अन्तरराष्ट्रिय व्यापार व्यवस्थापन, आयात नियन्त्रण तथा स्वदेशी उद्योगको संरक्षणमा समेत गैरभन्सार प्रावधानहरू प्रभावी हुँदै गएका छन् ।

उपर्युक्त परिस्थितिमाझ आफ्ना मुलुकका उत्पादन सम्बद्ध देशका गुणस्तरका प्रावधानहरूसँग मेल खाने बनाई निर्यात अभिवृद्धि गर्नु वर्तमान अन्तरराष्ट्रिय व्यापारको सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको छ । गुणस्तर नियमन तथा प्रमाणीकरण गर्ने निकायहरूको कमजोर उपस्थितिका कारण कम विकसित मुलुकहरूका लागि विकसित मुलुकले लागू गरेका गुणस्तरका प्रावधान अनुुकूल हुने गरी उत्पादन र वस्तुको गुणस्तर प्रमाणीकरण थप चुनौतीका रूपमा देखा परेको छ ।

सम्बद्ध आयात बजारले लागू गरेका गुणस्तरका प्रावधानहरूको ताजा र यथार्थ जानकारीलाई सरकारी निकायहरूमा व्यवस्थित र वैज्ञानिक रूपमा संकलन गर्नु र अपडेट गर्नु पनि अर्को ठूलो चुनौतीका रूपमा रहेको छ । सीमित साधनस्रोत, ताजा र यथार्थ सूचनामाथि कमजोर पहुँचका कारण सम्बद्ध आयात बजारले लागू गरेको गुणस्तरका मापदण्डहरूको डाटाबेस तयार गर्नु कम चुनौती पूर्ण छैन ।

विकसित देशहरूले लागू गरेका गुणस्तरका प्रावधानबमोजिम आन्तरिक रूपमा गुणस्तर प्रमाणीकरण गर्ने संस्थाहरूको क्षमता र विश्वसनीयता अभिवृद्धि पनि नेपालजस्ता अल्पविकसित मुलुकहरूका गम्भीर विषयका रूपमा रहेको छ । जनशक्तिको व्यवस्था, मान्यताप्राप्त प्रयोगशालाको स्थापना र सञ्चालनका अतिरिक्त यी क्रियाकलापको विश्वसनीयता आर्जन गर्न चालिनुपर्ने कूटनीतिक पहलकदमीको पनि आफ्नै महत्त्व रहेको हुन्छ ।

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech