१३ मंसिर २०८१, बिहीबार

उम्मेदवारसँग सुरक्षाको माग गर्दै मतदाता
  • रासस

बाँके\भारतसँग सीमा जोडिएको बाँकेका मतदाताले भरपर्दो सुरक्षा व्यवस्था माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत माग्दै गाउँ पुगेका उम्मेदवारसमक्ष बाँके क्षेत्र नं २ मा पर्ने सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाह क्षेत्रका मतदाताले विकासभन्दा सुरक्षा व्यवस्थाको माग गरेका हुन् ।

भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैं जोखिममा बस्नु परेको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाका कैलाश यादवले बताए । उनले भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना र भन्सार छलेर हुने तस्करीले असुरक्षा बढ्दै गएको बताए । ‘सीमावर्ती गाउँमा चोरी, तस्करी र लुटपाटका घटना भइरहन्छन्,’ उनले भने, ‘गोठमा बाँधेर राखिएका चौपाया र पार्किङमा राखिएका सवारीसाधन चोरीका घटना पनि हुने गरेकाले सुरक्षाको माग गरिएको हो ।’

बाँकेको तीन ओटै निर्वाचन क्षेत्रको भू–भाग भारतसँग जोडिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ । गत स्थानीय तह निर्वाचनका बेला पनि स्थानीयको माग शान्ति सुरक्षा नै थियो । भारतको बहराइच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई फेरि सुरक्षाको माग सुनाउने गरेको डुडुवा गाउँपालिका–६ हिरमिनिया निवासी राजेन्द्र बर्माले बताए ।

उनका अनुसार भारततर्फ सीमा सुरक्षा बलको बाक्लो उपस्थिति छ । त्यसले सीमापारिबाट हुने चोरी डकैती केही हदसम्म रोकिए पनि साना ठूला चोरीका घटना भने निरन्तर छन् । नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति पातलो भएका कारण यो क्षेत्रको मुख्य माग नै सुरक्षाको प्रत्याभूति रहेको छ ।

सुरक्षाबाहेक सिँचाइ सुविधा, सीमा नाकामा छोटी भन्सार सञ्चालन, बिजुली, व्यवस्थित सडक र स्वास्थ्य सुविधाका माग मतदाताले गरिरहेका छन् । यो समस्या हटाउन पनि नेताहरूले पहल गर्नुपर्ने बर्माको भनाइ छ ।

सबैजसो उम्मेदवारले सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था गर्ने, सडक, बिजुली र सिँचाइको व्यवस्था गर्ने आश्वासन  दिइरहेका छन् ।

चुनाव प्रचारका लागि सीमा क्षेत्रका गाउँ पुग्ने सबै उम्मेदवारले सुरक्षाको व्यवस्था र आधारभूत पूर्वाधार उपलब्ध गराउने बाचा गर्दै मतदाता रिझाउने प्रयत्न गरिरहेका छन् ।

बाँके क्षेत्र नं २ मा राप्रपा र नेकपा (एमाले)को तालमेलबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणाले सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा र विकास निर्माणको आवश्यकता देखिएको बताउँदै आफूले मतदाताको मागलाई प्राथमिकतामा राखेको आश्वासन दिए ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech