२७ जेष्ठ २०८२, सोमबार

गाउँमा दिउँसै बाघ घुम्दा गाउँले त्रसित
  • न्युज मानसराेवर

धनगढी\कैलालीको वसन्ता कोरिडोर आसपासका गाउँमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित भएका छन्। एक सातादेखि गाउँतिर बाघ बरालिएको देखिन थालेपछि कैलारी गाउँपालिका–७ र ५ का बासिन्दा त्रसित भएका हुन्। स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही दिनदेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ।

मान्छेले खेतमा जाने क्रममा दिउँसै पनि बाघ देखेको कैलारी गाउँपालिका–७ का खेमराज चौधरीले बताएका छन। उनका अनुसार तीन दिनअघि मात्रै सोही वडाको विपत्पुरस्थित वन र कटैनी नदी क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो। यसैगरी वसन्तास्थित उखुबारीमा पनि बाघ पुगेको बताइएको छ। “वसन्ता वन क्षेत्र नजिक बाघले एउटा छाडा गाई पनि मारेको थियो,” चौधरीले भनेका छन।

खेत जाने क्रममा केही मान्छे झन्डै बाघसँगको जम्काभेटबाट जोगिएको जनाइएको छ। गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो। उनीहरूले होहल्ला गरेपछि बाघ अन्यत्र गएको बताइएको छ। बाघको त्रास बढेपछि साँझ पर्नेबित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपत्पुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन्। दुई दिनअघि मात्रै पलिया गाउँमा पनि बाघ देखिएको कुलराज चौधरीले जानकारी गराएका छन।

उक्त बाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको स्थानीयले बताएका छन्। भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको बताइएको छ। सीमावर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताउनुभयो। उहाँका अनुसार केही दिनअघि भारतको सम्पूर्णनगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले मारेको थियो। त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेसनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले बाघका कारण सम्भावित क्षति हुन नदिन भारतीय अधिकारी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला वनसँग समन्वय भइरहेको जानकारी गराए । उनका अनुसार, “नयाँ दिल्लीस्थित अधिकारीहरूसँग कुरा भइसकेको छ।

दुधुवाका बाघमा रेडियो कलर जडान गरिएको भए पनि गाउँतिर आइरहेको बाघ नरभक्षी हो वा अरू कुनै हो, त्यो पछि मात्रै थाहा हुन्छ। हाम्रो पहिलो ध्यान मानवीय क्षति हुन नदिनु हो। त्यसका लागि समन्वयका साथ कुरा अघि बढाएका छौँ।”

  • १० पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech