१० असार २०८२, मंगलवार

बाँकेको खजुरामा बालविवाह रोक्न ग्यास सिलिन्डर उपहार
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिका– ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिलालाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याएको छ । मधेसी तथा मुस्लिम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्न यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले बताए ।

‘बालविवाह दैनिक रूपमा बढिरहेको छ । तर, उमेर बढाएर जन्मदर्ता बनाउन आएर हैरान बनाइसके,’ उनले भने, ‘वडाको समितिसँग छलफल गरेर समुदायको मागअनुसार नै उपहार योजना ल्याएका हौं ।’ माघ ३ मा वडाले सूचना जारी गर्दै वार्षिक विनियोजन बजेटबाट २० वर्षमाथिका महिलाको विवाहमा उपहारस्वरूप ग्यास–चुल्हो र सिलिन्डर उपलब्ध गराउने कार्यक्रम ल्याएको हो ।

‘छोरीहरूलाई पढाउँदैनन्, उल्टै बिहे गर्न हतार गर्छन् । जे गरे पनि समुदायलाई बुझाउन सकिएन,’ वडा सदस्य समुन्दरा चमारले भनिन्, ‘त्यसैले उपहार योजना ल्याएका हौं ।’कानुनको कडाइका साथ कार्यान्वयन गरेमात्रै बालविवाह रोक्न सकिने स्थानीय सतिश निरौलाले बताए । ‘दाइजो प्रथा नेपाल सरकारको नीतिविरुद्ध छ,’ उनले भने, ‘वडाले नै दाइजो दिने निर्णय गर्छ ।

यो त हास्यास्पद भएन र ?’ पालिका अध्यक्ष डम्मर विकले भने उपहार दाइजोको रूपमा नभएको बताए । ‘यो त २० वर्ष पूरा गरी विवाह गर्ने युवतीलाई सम्मान गरिएको मात्रै हो,’ उनले भने, ‘गाउँपालिकाले बालविवाह रोकथामका लागि थप कार्यक्रम पनि बनाएको छ ।’

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech