१० असार २०८२, मंगलवार

अझै पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन
  • न्युज मानसराेवर

बाँके\नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा  सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा उक्त  निवेदन परेको जनाइएको छ ।

निवेदन परेकाहरूको खोज तलास गर्दा हालसम्म एक हजार ६३८ जनालाई मात्र फेला पार्न सकेको र अझै पनि पाँच हजार ९३८ जना महिला र बालबालिका सम्पर्कविहीन रहेको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिएका छन।  कोइरालाले भारतबाट उद्धारका लागि सरकारले अझै पनि उद्धार संयन्त्र निर्माण नगरेकाले खोजतलास र उद्धारमा समस्या भइरहेको बताए ।

भारतको दिल्लीको जीवी रोड, कलकत्ताको सोनागाछी, मेरठको कवाडी बजार, आगराको काश्मीरी बजार र मुम्बईका विभिन्न रेडलाईट क्षेत्रमा नेपाली चेलीबेटीहरू विक्री हुँदै आएको कोइरालाको भनाइ छ ।

माइती नेपाल नेपालगञ्जले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म यो नाकाबाट शङ्कास्पद रूपमा भारत जान लागेका आठ हजार ५६८ जनाको उद्धार गरिएको, ती मध्ये आठ हजार ६६० जनालाई पारिवारिक पुनः मिलन गराइएको छ ।

सोही प्रकारले ३६५ जनाको भारतका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएको र बेचबिखनका ९३ वटा मुद्दा सम्बन्धित निकायमा दर्ता गराइएको पनि माइती नेपाल, नेपालगञ्जका प्रमुख कोइरालाले भनेका छन।

गत एक वर्षको अवधिमा मात्र जोखिमपूर्ण रूपमा भारत छिर्न लागेका ५२९ जना महिला तथा बालबालिकाको नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ ।  दलालले प्रलोभित गरेर नाका पार गर्न लागेको ५२९ जना मध्ये सुर्खेतका ८६ जना र बाँकेका ८२ जना रहेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै मानव बेचबिखन तथा ओसारपसार पनि बढ्दै गएको पाइएको छ ।  मानव बेचबिखन तथा ओसारपसारका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको माइती नेपालका अनुसार सामाजिक सञ्जालको प्रयोग बढेपछि मानव बेचबिखन बढेको र नियन्त्रणमा समेत चुनौती थपिएको छ ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech