बाँके\२०७२ भदौ ७ गते भएको टीकापुर घटनाका विषयमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटक पटक सारिदैआएको पेसीमा आज बहस हुनेछ । थरुहटको आन्दोलनका क्रममा झडप हुँदा घटनामा आठ जनाको ज्यान गएको थियो ।
घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । २०७७ पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएपछि उनीहरु सर्वोच्चमा पुनरावेदनका लागि रिट दायर गरेका थिए । सरोज बुढाथोकी, ध्रुवलाल श्रेष्ठ, रन्जितभक्त प्रधानाङ्ग, दीपेन्द्र झा, लोकमनी पोख्रेल, मनिस श्रेष्ठ, आसिश श्रेष्ठ लगायतले बहस गर्ने बताइएको छ ।
टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झझी (झगडिया झिकाऊ) का लागि फैसला गरेमा टीकापुर घटनाका विषयमा थप बहस हुने वातावरण बन्ने अधिवक्ताहरको बुझाइ छ । न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरेमा रेशम चौधरी रिहाइको बहस सकिने छ ।
यता रेशमकै संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई राजनीतिक घटनाको करार गर्दै विना शर्त रिहाईको माग गर्दैआएको छ । सत्ता साझेदार दल समेत रहेको उन्मुक्तिले उनीहरुको रिहाईलाई पहिलो शर्त बनाउँदै अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।