बाँके\लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले तुलसी चौधरीलाई प्रमुख सचेतकको रुपमा चयन गरेको छ। बुधबार नेकपा एमालेको दाङको देउखुरीमा बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको प्रमुख सचेतकमा चौधरी र सचेतकमा दाङकी रेखा शर्मालाई चयन गरेको हो ।
चौधरी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ (१)बाट दोस्रो पटक निर्वाचित हुन् । उनी यसअघि मन्त्रीका दावेदारको रुपमा चिनिएका थिए । रेखा शर्मा भने समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यससँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। यसअघि उनले प्रमुख स्वीकय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए ।
सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यका अनुसार मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेका छन्। शुक्रबारसम्म सरकार विस्तार हुने बताइएको छ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी माओवादी केन्द्र र अन्य संवाद गरिरहेका छन् ।