२६ जेष्ठ २०८२, आईतवार

नक्कली नोटको धन्दा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरका मोहन कुमाई, अछाम तुर्माखादका दीपक बीसी र सल्यान बनगाडका मोहन राना नक्कली रुपैयाँ किनेर नेपालगन्ज बजारमा बिक्री गर्न ल्याउँदै गर्दा पक्राउ परेका छन् । १ हजार रुपैयाँका ५ लाख ६९ हजार नक्कली नोटसहित उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले बुटवल बजारमा दुई लाख सक्कली रुपैयाँ दिएर ६ लाख नक्कली नोट साटेको बताए । ६ लाखमध्ये ३१ हजार नक्कली रुपैयाँ खाना, नास्ता र बजारका होटलमा बस्दा खर्च गरेको प्रहरीसमक्ष उनीहरूले बयान दिएका छन् ।

‘सक्कली दिएर नक्कली रुपैयाँ किनेर रातारात धनी हुने प्रलोभनमा पर्दा जेल जानुपर्ने अवस्था आयो,’ बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले भने, ‘नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तीन जनालाई नेपालगन्जको न्युरोडबाट पक्राउ गरिएको हो । तर, सक्कली नोट लिएर नक्कली बिक्री गर्ने मुख्य नाइके बुटवलबाटै फरार भएकाले खोजी भइरहेको छ ।’ उनीहरू फागुन २ गते पक्राउ परेका हुन् । नक्कली नोट कहाँ छापिएको थियो र कसरी नेपालगन्ज ल्याइयो भन्ने अझै खुलेको छैन ।

पछिल्ला ६ महिनायता भारतसँग सीमा जोडिएको तराईका जिल्लामा नेपाली र भारतीय नक्कली नोट कारोबार गर्नेहरूको सञ्जाल फैलिँदै गएको पाइएको छ । हुबहु नेपाली नोट छापेर बजार लान तयार पारेका ५० रुपैयाँ दरका नक्कली नोट पनि उल्लेख्य मात्रामा नेपालगन्जमा फेला परेका छन् । खोटा मुद्राका कारोवारीसँगै संलग्नहरूको खोजी गर्ने क्रममा नेपालगन्जको एक होटलमा कोठा भाडामा लिएर बसेका नेपालगन्जकै सदाव हलवाईले थाइल्यान्डमा निर्मित प्रिन्टरबाट नेपाली नक्कली नोट छापेर सुकाइरहेको अवस्थामा फेला परको हो ।

प्रहरीको टोलीले छापा मारेर नक्कली नेपाली रुपैयाँ जफत त गर्‍यो तर संलग्न कारोबारीलाई नियन्त्रणमा लिन सकेन । नेपालगन्ज–३ का हलवाई नासिर कादरीको नाममा कोठा बुक गरेर पुस २९ गतेदेखि होटलको कोठा नम्बर ३०७ मा बस्दै आएका थिए । सुराकीका आधारमा माघ २ गते प्रहरीले छापा मार्दा छापेका यस्ता खोटा मुद्रा र छाप्ने उपकरण छाडेर कारोबारी फरार भइसकेका थिए ।

नेपाली नक्कली नोट छाप्ने ती व्यक्ति बसेको कोठाबाट एउटा गैरसरकारी संस्थाको परिचयपत्र फेला परेको छ । त्यसमा संलग्नको फोटो टाँसिएको छ । होटलको सीसी क्यामेरामा देखिने अनुहार र परिचयपत्रमा टाँसेको फोटो एउटै व्यक्तिको भएको पाइएपछि संलग्नको खोजी र जाली नोटका कारोबारीको लहरो तान्न सीआईबीसँग समन्वय गरी अनुसन्धान थालेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

 

  • १३ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech