बाँके\नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।
मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि नै निलम्बित अवस्थामा थिए । त्यसअघि उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए । उनले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गरेका थिए । निर्वाचित गुरुङले २ हजार ५७५ मत प्राप्त गर्दा गुरुङले २ हजार २४७ मत प्राप्त गरेका थिए ।
सोही मुद्दामा पूर्वमन्त्री बद्री न्यौपाने पनि दोषी ठहर भएका छन् । यो मुद्दामा गुरुङ र न्यौपानेसहित जम्मा ९ जना दोषी ठहर भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । सजाय निर्धारण गर्न भने फागुन २५ गते पेशी तोकिएको छ।