नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्था लघुवित्त वित्तीय संस्था हो । हाल नेपालमा ६५ भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरू रहेका छन् । लघुवित्तीय संस्थाले विपन्न तथा न्यून आयस्तर भएका व्यक्ति तथा महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघु कर्जा प्रवाह गर्छ । त्यस्तै, सामूहिक सदस्य तथा व्यक्तिगत सदस्यहरूलाई स्वीकारयोग्य धितो लिई लघुउद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने गर्छ । लघुवित्त संस्थाले विशेष गरी विनाधितो कर्जा उपलब्ध गराउने गर्छ ।
लघुवित्त संस्थाहरूले नेपालका दुर्गम गाउँघरमा गई वित्तीय साक्षरता प्रदान गर्छन् । यिनले वित्तीय शिक्षा प्रदान गर्ने, बचत संकलन गर्ने, विनाधितो कर्जा दिने, धितोमा कर्जा दिने कार्यलगायत वित्तीय सेवा प्रवाह गर्दै आइरहेका छन् । नेपालमा गरीबी न्यूनीकरणका लागि धेरै कार्यक्रमहरू लागू भए तापनि लघुवित्तका कार्यक्रमहरू गरीब र ग्रामीण क्षेत्रमा मात्र आधारित छन् । लघुवित्त बैंकिङ सेवाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई वित्तीय सेवा तथा कृषि उत्पादन गर्न सहज र सुरक्षित गर्नका लागि मार्गदर्शन प्रदान गर्छ । नेपालमा लघुवित्त बैंकिङ सेवाको शुरूआतले औपचारिक बैंकिङ सेवाहरूमा पहुँच नभएकाहरूलाई नयाँ वित्तीय समाधान प्रदान गर्न मद्दत गरेको छ । साथै, ग्रामीण क्षेत्रका लागि भरपर्दो, सुरक्षित र सुविधाजनक बैंकिङ सेवाहरू प्रदान गर्छ ।
विभिन्न उत्पादन र सेवाहरू प्रदान गर्दै लघुवित्त बैंकिङले नेपालको बैंकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्दै यसलाई थप समावेशी बनाएको छ । लघुवित्तीय संस्थाले नेपालको ग्रामीण क्षेत्रको विकासलाई बढावा दिएको छ । लघु कर्जा र वित्तीय सेवामा पहुँच प्रदान गरेर लघुवित्तले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । लघुवित्तलाई विशेष गरी प्रभावकारी विकास पूर्वाधारका रूपमा मान्यता प्रदान गरिएको छ । जसमा, लघुवित्तीय संस्थाहरूमार्फत उपलब्ध गराइने सेवाहरूलाई विशेष गरी गरीब र अतिगरीबलाई लक्षित गरिएको छ । लक्षित समुदायको सामाजिक, आर्थिक स्थितिमा महत्त्वपूर्ण योगदान पुर्याउन र लघुवित्त बैंकिङ सेवाहरू प्रदान गर्ने संस्थाहरूलाई केही वर्षभित्रै निरन्तर बढ्दो पहुँचको साथ दिगो संस्थाका रूपमा विकास गर्न सकिन्छ ।
लघुवित्त वित्तीय संस्थाका उद्देश्यहरू
लक्षित क्षेत्रका महिलाहरूको आवश्यकता र तिनीहरूको सशक्तीकरण प्रक्रियालाई सहयोग पुर्याउनु लघुवित्तको उद्देश्य हो । सदस्यहरूमाझ सामूहिक भावना पैदा गर्नु, सदस्यहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि गर्नु र सदस्यहरूमा सामूहिक निर्णय क्षमताको विकास गर्नु पनि लघुवित्त संस्थाको उद्देश्य हो । महिलाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने र उनीहरूको आफ्नै पूँजी स्रोतको आधार सञ्चय गर्न सहजीकरण गर्ने काम पनि लघुवित्तको हो । महिलाहरूलाई विशेष गरी महिला विकाससँग सम्बद्ध सामाजिक जिम्मेवारीहरू लिन उत्पे्ररित गर्ने उद्देश्य पनि लघुवित्तले लिएको छ । कर्जालाई सही कार्यका लागि उपयोग गरी आयस्तर अभिवृद्धि गर्नु तथा भविष्यमा पर्नसक्ने जोखिमलाई सामना गर्नु र आत्मविश्वास बढाउन उत्प्रेरित गर्नु पनि लघुवित्तका उद्देश्य हुन् ।
कर्जाको सदुपयोग गराई आत्मसम्मान तथा आत्मनिर्भरता बढाउन मद्दत गर्ने काम पनि लघुवित्तले गर्छ । नेपालको ग्रामीण तथा पिछडिएको क्षेत्रको गरीबी निवारणमा महत्त्वपूर्ण योगदान गर्नु लघुवित्तको उद्देश्य हो । यसरी स्थापित लघुवित्तले नेपालमा गरीबी निवारणलगायत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ । तर, पछिल्लो समय लघुवित्तीय संस्थाहरूमा चुनौती थपिएका छन् ।
लघुवित्त क्षेत्रका चुनौतीहरू
विपन्न वर्गको आर्थिक उत्थानमा यसको योगदान महत्त्वपूर्ण भए पनि यसले केही चुनौती र समस्या भोगिरहेको छ । लघुवित्तका लागि पहिलो चुनौती भनेको नेपालको भौगोलिक अवस्था नै हो । त्यस्तै कर्मचारीहरूको सुरक्षाको कमी, वित्त कम्पनीहरूसँगको प्रतिस्पर्धा पनि लघुवित्त क्षेत्रमा विद्यमान चुनौती हुन् । कर्मचारीहरूलाई आवश्यक तालिम दिन सकिएको छैन । त्यस्तै यस क्षेत्रमा दक्ष कर्मचारीको अभाव पनि छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्था सेवामुखीभन्दा नाफामुखी भइरहेका छन् । बढी नाफा लिएको भनी यसको व्यापक आलोचना भइरहेको छ । सदस्यहरूमा कर्जाको दोहोरोपना र कर्जा लगानीपश्चात् कर्जाको सदुपयोगिता निरीक्षण नहुँदा लघुवित्त सेवामा समस्या थपिएको छ । यही कारण नै लघुवित्त संस्थाविरुद्ध संघर्ष पनि शुरू भएको छ ।
समाधानका उपायहरू
लघुवित्त क्षेत्रमा विद्यमान समस्याको समाधानका लागि केही कदम चाल्नैपर्ने देखिएको छ । तिनमा उचित नियमन, फिल्डको सुपरिवेक्षण, ब्याजदरको पारदर्शिता, दक्ष कर्मचारी तथा उचित तालिमको व्यवस्था आदि प्रमुख छन् । त्यस्तै नाफामुखी नभई सेवामुखी हुनुपर्ने, लघुवित्त संस्थाको कर्जा तिर्दैनौं भनी विरोध गर्नेमाथि कारबाही गर्नुपर्ने जस्ता कुरामा ध्यान जानुपर्छ ।
कर्जाको वर्गीकरण
लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई देहायबमोजिम वर्गीकरण गरिएको छ । भाखा ननाघेका र १ महीनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा मानिएको छ । त्यस्तै १ महीनादेखि बढीमा ३ महीनासम्म भाखा नाघेका कर्जालाई सूक्ष्म निगरानीमा राखिने कर्जा मानिएको छ । ३ महीनादेखि बढीमा ६ महीनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महीनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेको कर्जालाई शंकास्पद, १ वर्षभन्दा बढी अवधिले भाखा नाघेको कर्जालाई खराब कर्जामा वर्गीकरण गरिएको छ । यही वर्गीकरणअनुसार न्यूनतम कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । यसमा १ दशमलव ३ प्रतिशतदेखि शतप्रतिशतसम्म नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । असल र सूक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र कमसल, शंकास्पद तथा खराब कर्जालाई निष्क्रिय कर्जा मानिएको छ ।
लेखक लघुवित्त वित्तीय संस्थामा कार्यरत छन् ।