बाँके\राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले मुलुकमा सञ्चालन हुँदै गरेको भ्रष्टाचार बिरुद्धको आन्दोलनका अगुवाहरु नै भ्रष्टचारी भएको दाबी गरेका छन् ।
पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानको क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘जो बढी भ्रष्टाचार बिरोधी राग ओकल्दै आन्दोलनमा होमिएका छन् उनीहरुको आम्दानीको स्रोत र उनीहरुको रहन सहनको स्रोतमा समेत शंका गर्ने धेरै ठाँउहरु छन् ।
उनले केही राजनीतिक दलका नेतृत्वमा रहेका नेताहरुको नामै उल्लेख गर्दै भने–‘चर्को कुरा गर्ने र सस्तो लोकपृयता कमाउनेहरुको जीवन शैलीको आम्दानी मात्र खोजे पुग्छ । यसले उनीहरु कत्तिको सदाचारी हुन भन्ने देखाउछ ।’
उनले बर्तमान राजनीति भुटानी शरणार्थी प्रकरणको वरिपरि मडारिएको बताउदै दोषिलाई उम्कनै नदिनेगरी कारवाहीको दायरामा ल्याउन माग गरे ।
उनले पछिल्लो पटक रवि लामिछानेको नेतृत्वमा खोलिएको पार्टी अमेरिकाको स्वार्थ पूरा गर्ने उद्देश्यले खोलिएको दावी गरे । विषेश गरी अमुक धर्मको अनुयायी बढाउन र नेपाललाई खेल मैदान बनाउनको लागि प्रयोगमा ल्याईएको उनको दावी छ ।
राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनको मुख्य उद्देश्य महत्वपूर्ण पद खरिद विक्रि गर्ने र अस्थिताको अवस्था कायम गरिराख्ने भएकोले जनहितमा काम गर्न नसकेको दावी गरे । उनले बर्तमान सरकारको नीति तथा कार्यक्रम केही फरक र विवाद रहित बनाउन खोजिए पनि निकास र विकास दिन सक्ने नभएको टिप्पणी गरे ।