बाँके\बाँकेको बैजनाथ गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ।
बैजनाथ गाउँपालिकामा मात्र १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको छ। गाउँपालिकाले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सही सङ्ख्या पत्ता लगाउन गरेको लगत सङ्कलनबाट उक्त सङ्ख्या पत्ता लागेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले भूमि आयोग बाँकेको समन्वयमा पालिकाभरिको लगत सङ्कलन गर्दा १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको जानकारी गराएका हुन ।
गाउँपालिकाले विभिन्न चरणमा गाउँपालिकाका आठ वटै वडामा लगत सङ्कलन गरिएको जनाउँदै सो कार्यका लागि भूमि आयोग, गाउँपालिकाका प्राविधिक तथा नापीका कर्मचारीलाई परिचालन गरिएको उल्लेख गरेका छन।
गाउँपालिकाका अनुसार सङ्कलन गरिएको लगतमा देखिएका १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये भूमिहीन सुकुम्वासी एक हजार ६३९, भूमिहीन दलित ९३५ जना र अन्य अव्यवस्थित बसोबासी सात हजार ७६५ जना छन्।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले अझै पनि कोही छुटेका छन् भने उनीहरूलाई फेरि पनि समावेश गराउने योजना गाउँपालिकाको रहेको बताएका छन।
उनले लालपुर्जा वितरणका लागि स्थानीय सरकारका तर्फबाट नापी र मालपोतका काम अगाडि बढाइएको पनि उल्लेख गरेका छन ।अध्यक्ष शाहीले भन्नुभयो, “सही र वास्तविक भूमिहीन तथा सुकुम्वासी पहिचान गरेर उनीहरूलाई छिट्टै लालपुर्जा वितरणको तयारीमा जुटेका छौँ। यसमा सबैको सहयोग आवश्यक छ।”
उनले समस्या सधैँका लागि समाधान गर्ने सोचका साथ भूमि आयोगसँग समन्वय गरेर काम गरिरहेको बताएका छन।