१२ मंसिर २०८१, बुधबार

कस्तो आउँदैछ लुम्बिनीको बजेट ?
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि आज शुक्रवार बजेट सार्वजनिक गर्दैछ । शुक्रवार दिउँसो ३ बजे दाङको देउखुरीस्थित प्रदेश सभामा भवनमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गर्दैछन् । यो वर्ष प्रदेश सरकारले गत वर्षभन्दा बजेटको आकार २० प्रतिशतले घटाएर ल्याउँदैछ ।

संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै प्रदेश सरकारको बजेट घट्ने भएको हो । कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै गत वर्ष प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो वर्ष करीब ३४ अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउने बताइएको छ । यो वर्ष सरकारले रोजगारीलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले बताए ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १ वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने बताउँदै आएका छन् । नीति कार्यक्रममा पनि रोजगारी प्राथमिकतामा छ । जेठसम्म प्रदेशको बजेट झण्डै ४५ प्रतिशतसम्म मात्र खर्च भएको छ ।

स्रोत अनुगमन समितिले चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएको थियो । सोहीअनुसार योजना छनोट भएका छन् । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट संकुचित हुने भएकाले बजेटको आकार घटेर आउने बताए ।

‘चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आवको बजेट घट्न सक्छ भन्ने प्रारम्भिक अनुमान छ,’ उनले भने ।

लुम्बिनी प्रदेश सरकारले सांसद् विकास कोषजस्तै घुराउरो तरिकाले सांसदहरूलाई बजेट दिने तयारी गरेको छ । संघीय सरकारले ल्याएको ‘पूर्वाधार विकास कोष’ कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी सरकारले भने योजना छनोटमार्फत् सांसदहरूलाई बजेट दिने तयारी छ । प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ७५ लाख रूपैयाँ बराबरको योजना ल्याउन पाउने गरी व्यवस्था गर्न लागिएको छ ।

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech