१२ जेष्ठ २०८३, मंगलवार

बैजनाथ गाउँपालिकामा सूर्योदय मावि बन्यो उत्कृष्ट विद्यालय
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिकाले पालिकाले गाउँसभामा सुर्योदय माविलाई उत्कृष्ट कार्र्यसम्पादन गरेको भन्दै सम्मान गरेको छ । पालिकाको नियमित गाउँसभामा बैजनाथ गाउँपालिकामा रहेको ३८ वटा सामुदायिक विद्यालयहरुमध्ये सुर्योदय मावि बैजनाथ १ चिसापानीले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको हो । सुर्योदय माविलाई उत्कृष्ट बिद्यालयका रूपमा नगद १ लाख रुपैयाँ र कदर पत्र प्रदान गरिएको छ ।

सूर्योदय मावि वि.स २०३४ सालमा स्थापना भएको हो । समाजसेववी स्व. द्रोण चन्द ठकुरीको अग्रसरतामा औपचारिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो । वि.स. २०६५ मा उच्च मावि सञ्चालन गरी शिक्षा संकाय र व्यवस्थापन संकायका विषयहरु पठनपाठन हुँदै आएको छ । सूर्योदय माविमा अहिले करिब १२ बढि विद्यार्थीहरु छन् ।

विद्यालयमा विद्यार्थीको संख्याको आधारमा शिक्षक छैनन्, भौतिक संरचना छैनन्, शौचालय छैनन् तर कुशलतापूर्वक गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्राधानाध्यपक दिपक बहादुर शाही बताउँछन् । पालिकाले अझै थप बजेटको व्यवस्था गरी भौतिक संरचण, शिक्षकको पदपूर्ति, शौचालय, प्रविधिसंग बालबालिका जोडन सकियो भने सोचेभन्दा राम्रो नतिजा आउने प्रअ शाही बताउँछन् ।

‘कम्प्यूटर ल्याब र विज्ञान ल्याब जोड्ने काम भइरहेको छ, कक्षा ४ बाट नै सेक्सन विभाजन गरी शिक्षा प्रदान गर्ने योजना छ’ उनी भन्छन् ।
सूर्योदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बुढा क्षेत्रीले पालिकामा नै उत्कृष्ट विद्यालय बनाउन पाउँदा निकै खुसी व्यक्त गरे । यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी तथा संघ-संस्थाहरुलाई सम्मान गरेको बताए ।

‘अहिले पालिकाले नयाँ योजना सहित अगाडि बढेको छ,’ उनले भने, ‘अब राम्रो लाई सम्मान नराम्रोलाई दण्डित गर्छौ ।’ पालिकामा रहेका कृर्षि फर्म, विद्यालय, कर्मचारी, कृषक समूह लगायत अन्य संघसंस्थाहरुलाई सम्मान गर्ने योजना रहेको पालिका अध्यक्ष शाहीले बताए ।

पालिकाको नियमित गाउँसभामा सम्मान हुनेमा पशु विकास शाखाका प्रमुख खड्क बहादुर सिंह, टिटिरियाका स्वास्थ्य चौकीमा कार्यरत प्रेमकुमारी थारु, कानून शाखाकी शिला पाठक, स्वास्थ्य चौकीमा कार्यरत रामदास थारुलाई जनही २० हजारका दरले सम्मान गरेको थियो ।

यस्तै सभामा अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सभाका सदस्य एवम ८ वटै वडाका वडाअध्यक्ष तथा वडासदस्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्णप्रसाद जैसी, आन्तरिक लेखा परिक्षक उपेन्द्र प्रसाद ढुंगाना, योजना शाखा प्रमुख डोटी नेपाली, प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह, स्वास्थ्य शाखा प्रमुख लक्ष्मणबहादुर शाही, प्राविधिक शाखा प्रमुख धर्मेन्द्र आचार्य लगायत अन्य कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सभा पश्चात गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० भित्र संचालित विकास निर्माण, योजना तथा कार्यक्रमलाई समेटेर प्रकाशित गरिएको ’समृद्द बैजनाथ’ स्मारिका विमोचन गरियो । गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष रोकाय र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

  • २८ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech