इटहरी – जेठ १०।
इटहरीको हलगडामा अवस्थित समता स्कुलले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई औपचारिक स्वागत तथा गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई भावपूर्ण बिदाइ गरेको छ।

विगत १५ वर्षदेखि नर्सरीदेखि कक्षा १० सम्म समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले हरेक वर्ष स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यस वर्षको कार्यक्रममा बिदाइ हुने शिक्षकहरूलाई मायाको चिनोसहित सम्मानपूर्वक बिदाइ गरिएको थियो भने नवनियुक्त शिक्षकहरूलाई औपचारिक स्वागत गरिएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेको गायन तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

बिदाइ मन्तव्यका क्रममा नर्सरीदेखि कक्षा १० सम्म समतामै अध्ययन गरेकी छात्रा मेलिना फुयाल भावुक बनेकी थिइन्। उनले विद्यालयप्रति गर्व व्यक्त गर्दै भनिन्, “हाम्रो विद्यालयलाई कतिपयले न्यून शुल्कको विद्यालय भनेर कम आँक्ने गरेका छन्। तर एसईईको नतिजाले विद्यालयको गुणस्तर प्रमाणित गरेको छ। मलाई समताको विद्यार्थी भन्न सदैव गर्व हुनेछ। यो मेरो दोस्रो घर थियो, हो र रहिरहनेछ।”
अभिभावकका तर्फबाट युनिक आचार्यका बुबाले विद्यालयको कार्यसम्पादनप्रति सन्तुष्टि व्यक्त गरे। त्यसैगरी बिदि श्रेष्ठका बुबाले आफ्नी छोरीलाई नर्सरीदेखि कक्षा १० सम्म समतामा अध्ययन गराउन पाएकोमा गर्व लागेको बताए। विद्यालयले विद्यार्थीको समग्र बिकासमा उत्कृष्ट भुमिका खेलेकोमा तारिफ गरे।
समताबाटै २०७५ सालमा एसइइ उतिर्ण गरि २०७८ देखि २०८२ सम्म शिक्षिका समेत रहेकी प्रनिशा श्रेष्ठले विद्यालयमा अध्यापन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन्।
कार्यक्रममा वैशाख १७ गते सम्पन्न विद्यार्थी परिषद् निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ पनि ग्रहण गराइएको थियो।
विद्यालयका प्रिन्सिपल ले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रतिबद्धता दोहोर्याए। उनले अभिभावकहरूको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै सहकार्यमार्फत विद्यालयलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।











