बाँके\बाँकेको कोहलपुरस्थित चौराहामा शपिङ कम्प्लेक्ससहितको बसपार्क निर्माण गरिएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क साउन पहिलो साताभित्रै औपचारिक रुपमा सञ्चालन आउने भएको हो ।
नगर विकास कोषसँगको साढे ३० करोड ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो । नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
मुख्यमन्त्री डिल्ली चौधरीले आइतबार आयोजित कार्यक्रममा नयाँ बसपार्कको उदघाटन गरेका थिए । वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि नगर विकास कोषसँग सम्झौता भएको छ । २०७७ असोज २३ गते तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससँग सम्झौता गरेका हुन् ।
२०७७ फागुन २४ गतेबाट बसपार्क निर्माण कार्य सुरु गरिएको थियो । २०७९ निर्माण सकिएको बसपार्कको आइतबार उदघाटन गरिएको हो । बसपार्क निर्माण सम्पन्न भएसँगै कोहलपुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि ठेक्का सम्झौता गर्नुका साथै बसपार्कभित्र रहेका सटरहरु समेत भाडामा दिइसकेको जनाइएको छ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर पनि निर्माण गरिएको छ ।