२ जेष्ठ २०८२, बिहीबार

कालोबजारीमा बेच्न ससुरालीमा लुकाइयो अनुदानको मल
  • न्युज मानसराेवर

बुटवल\सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा कपिलवस्तुमा बदमासी भएको पाइएको छ ।मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली पुर्‍याएका छन् ।कालोबजारीमा बिक्री गर्ने नियतले अनुदानको मल ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक –इन्सपेक्टर) शैलेश्वरी बोहोराले नियमविपरीत मल बिक्रीवितरण गरेको सूचना आएपछि प्रहरीले जफत गरी उठाएर ल्याएको बताइन् । ‘सहकारी संस्थाको नाममा आएको मललाई आफन्तको घरमा डम्पिङ गरी राखेको सूचना प्रहरीलाई आएपछि ५४ बोरा मल प्रहरीले ल्याएको छ,’ इन्पेक्टर बोहोराले लोकान्तरसँग भनिन्, ‘घटनाको विस्तृत अनुसन्धान हुँदैछ ।’

सहकारीका अध्यक्ष यादवले सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबी गर्दै मंगलवार र बुधवार किसानलाई वितरण गर्ने जानकारी प्रहरीलाई गराएका छन् । सरकारले हरेक जिल्लामा रासायनिक मल प्रशस्त पठाए पनि वितरणको जिम्मा पाएका सहकारीले बदमासी गर्दा किसानसम्म मल नपुगेको भन्दै धान दिवसको दिन असार १५ गते कृषिमन्त्री बेदुराम भुसाल जंगिएका थिए ।

घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालयको टोलीले रासायनिक मल बरामद गरी अनुसन्धान थाल्ने जनाएको छ । कपिलवस्तुमा मात्र होइन, देशभर सहकारीका सञ्चालकले बदमासी गर्दा किसानले मल नपाएर हैरानी पाएका छन् ।

  • २ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech