बाँके\नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन आउँदो भदौ तेस्रो हप्ता बुटवलमा हुने भएको छ ।
एमाले प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालय बैठकले भदौ १६ र १७ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए ।
अधिवेशनका लागि सदस्यता नवीकरण कार्य साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणित प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।
पार्टीको नियमित प्रशिक्षणका लागि स्कूल सञ्चालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कंडेलले बताए । जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट संघ तथा प्रदेशमा रहेका सांसदहरू, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू रहनेछन् ।
बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरू सहभागी रहेका थिए ।