१ जेष्ठ २०८२, बुधबार

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ४६२ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको छ । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ८ सय ९२ वटा सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ८ सय ९२ वटा सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परेर ७९९ जना गम्भीर घाइते भएका छन् भने ४७७ जना सामान्य घाइते भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक हजार एक सय ६४ वटा सवारी दुर्घटना हुँदा ५५१ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । दुर्घटनामा परी एक हजार एक सय २३ जना गम्भीर घाइते भएका थिए भने ५ सय ९७ जना सामान्य घाइते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा एक हजार दुई सय ११ वटा सवारी दुर्घटना हुँदा पाँच सय २६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी एक हजार ८३ जना गम्भीर घाइते भएका थिए भने सात सय ४० जना सामान्य घाइते भएका थिए ।

पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा लुम्बिनी प्रदेशमा सवारी दुर्घटना तथा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । कार्यालयले वर्षेनी ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिदै आएकोले सवारी दुर्घटनामा कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण प्रसाईको भनाई छ ।

ट्राफिक व्यवस्थापन कार्यालयले सवारी चालकलाई प्रशिक्षण, दैनिक सवारी चेकजाँच तथा बेथलाईजरको प्रयोग गरी मापसे चेकजाँच लगायतका सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यालयले गत आर्थिक वर्षमा ६ हजार ८ सय ९६ जनालाई ट्राफिक सचेतना प्रदान गरेको जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९ सय ३७ जना र आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९१ जनालाई सचेतना प्रदान गरेको थियो ।

  • १८ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech