११ मंसिर २०८१, मंगलवार

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा दुवै समूहको उम्मेदवारी दर्ता, को-को छन् ?
  • न्युज मानसराेवर

बुटवल\नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत दुई समूहका आकांक्षीहरूले पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिका लागि आइतबार पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेर सहमतिको प्रयास गरिएपनि दुवै समूह सहमतिमा नआएपछि अन्तिम समयमा सबै पदमा समूहगत उम्मेदारी परेको हो ।सहमतिमै उम्मेदवारी टुंग्याउन अध्यक्ष ओलीले शनिबार र आइतबार नेताहरुलाई सँगै राखेर निर्देशन दिएका थिए भने प्रदेश इन्चार्ज पद्मा अर्याललाई सहमतिमै नेतृत्व टुंगो लगाउन जिम्मेवारी दिएर काठमाडौं गएका थिए ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजालले उम्मेदारी दर्ता गरेका हुन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवम् पार्टी केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमतिमा नेतृत्व चयन हुन नसकेको हो ।

आइतबार सहमतिका लागि पद्मा अर्याल, प्रदीप ज्ञवाली, सूर्य थापालगायतका नेताहरुले दिनभर प्रयास गरेपनि कुनै सहमतिमा टेकाउन नसकेका हुन् ।रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट मानिएका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, बलाराम अधिकारी, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । उनलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट नेताहरुले समर्थन गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य,सोम सापकोटा र उपसचिवमा १२ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये उपाध्यक्षमा उम्मेदारी दिएका श्रेष्ठ कंडेल र विश्वकर्मा रिजाल पक्षका हुन् ।

त्यसैगरी, सचिवमा दिएका दुई जना कंडेल पक्षका हुन् तर भोलि बिहानसम्म समय रहेकाले अर्को पक्षबाट पनि उम्मेदवारी वर्ने जनाइएको छ । आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले सोमबार विहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताए । आइतबार निर्वाचन प्रक्रिया अन्तरगत मतदाताहरुको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएको भएपछि थप प्रक्रिया स्थगित गरेकोहो ।

सोमबार विहानैदेखि प्रक्रिया पूरा गरि उम्मेदवारहरुको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लगायतका काम हुने निर्वाचन मण्डलले बताएको छ । यो वर्षलाई अधिवेशन वर्षको रुपमा लिएको नेकपा एमालेले पहिलो पटक लुम्बिनी प्रदेशको अधिवेशन आयोजना गरेको हो । प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्व राख्ने भन्दै अध्यक्ष कपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका भएका छन् ।

दुवै पक्षले अडान नछाडेर उम्मेदारी दर्ता गरेपनि निर्वाचनमा जाने निश्चित भएपनि नेताहरू सहमतिको लागि अझै प्रयासमा लागिरहेको जनाएका छन् ।

केन्द्रीय सदस्य भूमिश्वर ढकालले सहमतिमा जाने संभावना कम भएकाले निर्वाचन हुने बताए । तर पोलिटब्यूरो सदस्य सूर्य थापाले आकांक्षीहरुको उम्मेदारी दर्ता भएपनि अझै सहमतिको प्रयास हुने र सोमबार बिहानसम्म यसमा लागिरहने बताए । अहिले जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन् । केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पुराएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए ।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक भएपनि सबै जिल्लामा सहमति भएको छैन । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुनेछ ।

यसअघि १६ र १७ गतेलाई तोकिएको अधिवेशन मिति लम्बिने भएको छ । सचिव पद्मा अर्यालले सकैसम्म भोली बिहानसम्म सहमतिको प्रयास खोजिने र नभए भोलि छिटै निर्वाचन प्रकृयामा जाने बताइन् । निर्वाचन समितिका सदस्यहरुले भोलि नै निर्वाचन भएपनि सबै प्रकृया भोली संभव नहुने जनाएका छन् ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech