११ जेष्ठ २०८३, सोमबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहको भर्ना सुरु
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी विषय अध्ययनका लागि भर्ना सुरु गरेको छ । विश्वविद्यालयले यो पहिलो वर्ष ‘बी टेक इन सीएस एण्ड एआई’ र ‘बी टेक इन आइटी’मा भर्ना सुरु गरेको विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार बी टेक इन सीएस एण्ड एआई विषयमा भर्ना हुनका लागि कक्षा ११ र १२ मा फिजिक्स, कमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा द्वितीय श्रेणी ल्याएको हुनुपर्नेछ। कुलसचिव भण्डारीका अनुसार बी टेक इन आइटीमा भर्ना हुन भने कक्षा ११ र १२ जुनसुकै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । दुवै विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भदौ ६ गतेदेखि एक महिनाको म्याद राखेर भर्ना सुरु गरिसकेको कुलसचिव भण्डारीले जानकारी दिए।

“हाम्रो विश्वविद्यालयले यो सुरुको वर्ष दुई विषयमा भर्ना सुरु गरेको छ, भदौ ६ गतेदेखि सुरु गरिएको भर्ना असोज ५ गतेसम्म खुल्ला रहनेछ, विलम्ब शुल्क तिरेर विद्यार्थीले असोज १२ गतेसम्म भर्ना हुन पाउनेछन्, उनले भने , “दुवै विषयका लागि विद्यार्थी कोटा ४८(४८ जनाको छ ।”

कुलसचिव भण्डारीका अनुसार चालू शैक्षिक सत्रबाट ‘बी टेक इन आइटी’, ‘बी टेक इन सीएस एण्ड एआई’, ‘बी टेक इन आइटी इन्जिनियरिङ’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेपनि पहिलो चरणमा दुई वटा कार्यक्रममा भर्ना सुरु गरिएको छ ।

अर्को वर्षको शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालनमा ल्याइने उनले भने पूर्ण शुल्क छुट, न्यूनतम शुल्क र पूर्ण शुल्क गरी तीन किसिमले विद्यार्थीहरूका लागि शुल्क कोटा पनि छुट्टाइएको भण्डारीले जानकारी दिएका छन ।

‘बी टेक इन सीएस एण्ड एआई’

पुरा रूप ब्याच्लर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स रहेको यो विषय चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युटर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ । प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न कोर्षमा सैद्धान्तिकसँगै प्रयोगात्मक विषय राखिएको छ । यो कोर्ष न्यूनतम शुल्कमा पढ्न एक लाख ३० हजारसम्म र पूर्ण शुल्कमा पढ्न पाँच लाख १८ हजार रुपैयाँसम्म खर्च लाग्ने विश्वविद्यालयले जनाएको छ ।

‘बी टेक इन आइटी’

पुरा रूप ब्याच्लर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आइटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्वेज, नेटवर्किङ, डेटावेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिइने छ ।

प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई मिसाएर आइटी क्षेत्रका लागि विभिन्न जनशक्ति तयार पार्नु कोर्षको उद्देश्य रहेको विश्वविद्यालयले जनाएको छ । यो कोर्ष न्यूनतम शुल्कमा पढ्न एक लाख १५ हजार र पूर्ण शुल्कमा पढ्न चार लाख ६० हजार रुपैयाँसम्म खर्च लाग्ने जनाइएको छ ।

२०७९ सालमा नेपालगन्जमा स्थापना गरिएको यो विश्वविद्यालय लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो ।

  • २० भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech