कोहलपुर\नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताएका छन ।पार्टीद्वारा सञ्चालित समाजवादी जागरण अभियानको ११ औँ दिनमा बाँकेको कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन ।
नेकपा (एकीकृत समाजवादी) बाँकेको आयोजनामा भएको सभामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘नेपालमा समाजवादी आन्दोलनलाई सफल बनाउन क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता र अपरिहार्यता छ ।’
नेपालले बाँकेलाई कृषि तथा औद्योगिक क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताए । देशमा सुशासन कायम गराउनुका साथै पुँजीवाद र भ्रष्टाचारमुक्त बनाउन जिम्मेवार सरकार चाहिएको बताउँदै नेपालले भने, ‘चुलिँदै गएको महँगीलाई नियन्त्रण गर्न म यहीँबाट प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले रोजगारी समृद्धि र सुशासनको नारालाइ पुरा गर्न कृषि उद्योग शिक्षा र स्वास्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए । उनले राष्ट्रिय पुजिवादको बिकास गर्न जनतालाइ कृषितर्फ उत्साहित गर्न जनमुखि कृषिमुखि कार्यक्रम ल्याउनु पर्ने बताए ।
सरकारले कृषि क्षेत्रमा प्रोत्साहन गरिरहँदा त्यसबाट उत्पादित वस्तुको बजारीकरणमा ध्यान नदिँदा कृषि क्षेत्रमा राज्यले गर्दै आएको लगानी सार्थक नदेखिएको समेत उनले बताए । अध्यक्ष नेपालले गरिबी उन्मूलनका लागि रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने अवस्थामा किसानले उत्पादन गरेको वस्तुले बजार नपाउनु र पाए पनि उचित मूल्य नपाउनुले दिनानुदिन देश रित्तिँदै गएको भन्दै चिन्तासमेत प्रकट गरे ।
जुनसुकै पार्टी र सरकारले जनतासँग नङ र मासुको सम्बन्ध कायम गराउन सक्नुपर्ने उनको भनाइ छ । ‘त्यसैका लागि हामीले यही असोज १४ गतेदेखि जागरण अभियान सुरू गरेका छौँ’, उनले भने, पार्टीलाई बलियो बनाउने सबै काम जनप्रतिनिधिहरुकै हातमा रहेको बताउदै पार्टीका जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरुलाई पनि हरेक तहमा पार्टीलाई बलियो बनाउन संगठन निर्माणदेखि जनताको घरदैलोमा पुग्ने र हरेक समस्यामा सारथि बन्न आवश्यक छ ।’ उहाले जनताबाट दलहरुप्रति राखेको अपेक्षासहितको सुझाव संकलन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला लगायतले समग्र बाँकेको बिकासका निम्ति आफुहरुले सक्दो सहयोग गर्ने बताएका थिए ।