७ मंसिर २०८१, शुक्रबार

लुम्बिनीमा गुटरेसको भ्रमण आज
  • न्युज मानसराेवर

लुम्बिनी\संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसले आज (मंगलबार) बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन्।

गुटरेसको भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा हुने भएको हो।गुटरेस लुम्बिनी आउने छैटौं महासचिव हुन् । यसअघि लुम्बिनी आएका ५ जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन। तर, यो पटक लुम्बिनी भ्रमणमा आउन लागेका गुटरेसको भ्रमण प्रधानमन्त्री दाहालको उपस्थितीमा हुने भएकाले यसको महत्व बढेको बताइएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए।

संयुक्त राष्ट्र संघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिल, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयर सन् १९८९ मार्च र सन् २००८ नोभेम्बरमा बान कि मुनले लुम्बिनीको भ्रमण गरेका थिए।

संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रुपमा लिइन्छ । प्रधानमन्त्रीसँगै महासचिवले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश पुग्ने उपाध्यक्ष लामाले बताए।

उनले भ्रमणलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी पूरा भएको बताए । भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।महासचिव गुटरेस मंगलबार विहान ८ : ३५ मा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८ स् ५० बजे लुम्बिनीमा आइपुग्ने कार्यक्रम रहेको सदस्य सचिव सानुराजा शाक्यले बताए।

प्रधानमन्त्री दाहाल काठमाडौंबाट लुम्बिनी आउने र महासचिव पोखराबाट गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको छ । कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन्।

महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन्।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । गुटरेसलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ। लुम्बिनीमा डेढ घन्टा बिताएपछि १० : ३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ।

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले आफ्नो धारणा राख्नेछन्।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech