बाँके\ बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जिल्लामा करेन्ट लागेर, पानीमा डुबेर र अन्य विपत्तिमा परेर १७ जनाको मृत्यु भएको तथा २२ जना घाइते भएका हुन् ।
प्रजिअ पोखरेलले गत पाँच महिनाको अवधिमा जिल्लाभर आगलागीका ३४, बाढी र डुबान २१, हावाहुरी आठ, करेन्ट आठ, पानीमा डुबान सात र अन्य विपदका २५ वटा घटना भएको बताए । उनले करेन्ट लागेर ६ जना, पानीमा डुबेर चार जना र अन्य विपत्तिमा परेर सात जनाले ज्यान गुमाएको जानकारी गराए ।
आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षति पुगेको थियो भने हावाहुरीबाट आठ घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
विपदबाट ४४ लाख ५२ हजार दुई सय रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
सबैभन्दा बढी भौतिक क्षति आगलागीबाट भएको छ ।विपद् प्रभावित ३३ घरपरिवारलाई चार लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रजिअ पोखरेलले जानकारी गरए ।उनले विपत्ति जोगिन पहिले नै विपद् व्यवस्थापन योजना बनाएर कार्यान्वयन गरिएकाले क्षति कम भएको बताएका छन।
गोरखापत्र










