त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ। देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ। न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ। जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ। त्यसैले होला- भोलिका कर्णधार आज आफ्नो आँशु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन्। परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन्। किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन्। नेताहरु नै दुई थरिका कुरा गर्छन्। सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै रोजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन्।
चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामले नै देखाउँछन्। समग्रमा भन्दा आज देशको भविष्य रोएको छ।