२० भाद्र २०८३, शनिबार

पत्निले मात्रै चाहदैमा डिर्भोस नहुने काठमाण्डौ अदालतको फैसला
  • न्युज मानसराेवर

काठमाडौँ: जिल्ला अदालत काठमाडौँले पतिपत्नीबीचको सम्बन्ध विच्छेद (डिभोर्स) लाई लहड, रहर र इच्छाको विषय बनाउन नहुने फैसला गरेको छ।  धादिङ माइतीघर भई हाल काठमाडौँको नागार्जुन बस्दै आएकी २९ वर्षीय महिलाले पतिसँग सम्बन्धविच्छेदका लागि एक वर्षअघि दिएको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गत जेठमै गरेको यो मुद्दाको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको छ। जसमा सम्बन्धविच्छेदको लागि महिलाको दाबी नपुग्ने ठहर गरिएको छ। वादीको दाबीमा सम्बन्धविच्छेद हुन सक्ने कुनै आधार नरहेको फैसलामा उल्लेख छ।

उनीहरुबीच तीन वर्षअघि सामाजिक परम्पराअनुसार विवाह भएको थियो। ती महिलाले १९ मंसिरमा २०७९ मा बैतडी घर भएका आफ्ना ३० वर्षीय पतिसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन्।

उनको फिरादमा पतिसँग अंश नलिई तथा मानाचामलसमेत नभराई सम्बन्धविच्छेद गरी छुट्टै बस्न चाहेकाले सम्बन्धविच्छेद गरिदिन माग गरिएकाे थियाे। अहिलेसम्म उनीहरूबाट बालबच्चाको जन्म भने भएको छैन।

अदालतको फैसलामा दुईजनाले स्वतन्त्र मञ्जुरीसहित एक–अर्काको पति वा पत्नी भई जीवन जिउने इच्छा गरेर विवाह गरेपछि एक–अर्काप्रति, समाज, घरपरिवार र सन्तानप्रतिसमेत अनेकौँ किसिमका दायित्व र अधिकार सिर्जना हुन पुग्ने निष्कर्षसहित अदालतले यस्ताे फैसला गरेकाे हाे।

‘पति वा पत्नीले अर्को पक्षसँग केवल मनोगत आधारमा सम्बन्धविच्छेदको दाबी लिन नसकून् र पति–पत्नीको सम्बन्धविच्छेद कुनै एक पक्षको लहड, रहर र इच्छाले टुट्न सक्ने कमजोर सम्बन्ध नबनोस् भन्ने उद्देश्य विधायिकाले लिएको पाइन्छ,’ फैसलामा भनिएको छ, ‘यस अवस्थामा कुनै एक पक्षको मात्रै इच्छा र चाहनामा सो पवित्र सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुनी व्यवस्थालाई खुकुलो बनाइदिने हो भने व्यक्ति आफूबाहेक अन्यसँग जिम्मेवार नरहन जाने खतरा उत्पन्न हुन्छ भने घर, परिवार, नाता, सम्बन्ध, समाज केवल देखावटी र मेकानिकल बन्न जान्छन्। तसर्थ, कुनै एउटाको मात्रै इच्छा र चाहनाले सम्बन्धविच्छेद नहोस् भन्नेतर्फ विधायिका सचेत देखिन्छ।’

ती महिलाले पतिको आफूप्रतिकाे साबिक व्यवहारमा परिवर्तन गरेको तथा सामान्य विषयमा समेत मनमुटाव सुरु भएको दाबी गरेकी थिइन्। उनले भावनात्मक रूपमासमेत आफूहरु एक–अर्काबाट टाढिँदै गएको बयान दिएकी थिइन्।

तर, उनका पतिले भने त्यो आरोप अस्वीकार गरेका थिए। उनले आफूले श्रीमतीलाई कहिल्यै कडा वचन नबोलेको र सम्बन्धविच्छेद गर्न नचाहेको बयान अदालतलाई दिएका थिए। ‘पति–पत्नी भएर बसिसकेपछि घर–व्यवहार चलाउने क्रममा केही तीता–मिठा शब्द निस्किए पनि सम्बन्धविच्छेद गर्नुपर्नेसम्मको कुनै विवाद हामीबीच छैन,’ उनले अदालतमा बयानको क्रममा भनेका थिए।  सोही आधारमा न्यायाधीश पण्डितले ती महिला (वादी)को मुद्दामा सम्बन्धविच्छेदकाे लागि दाबी नपुग्ने फैसला गरेको हो।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech