नेपालगन्ज: नेपालगन्जस्थित मलमपट्टी क्लिनिक्सले नि:शुल्क शनिवार हाडजोर्नी सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरी शिविरको आयोजना गरिएको जनाइएको छ ।
मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको तर आम मानिसमा भने चेतनाको कमी भएकै कारण उपचारमा खासै ध्यान नदिएको भन्दै यसबारे चेतना फैलाउन नि:शुल्क विशेषज्ञ परामर्श सेवा प्रदान गर्न लागिएको क्लिनिक्सका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिए ।
मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले समेत सेवा लिन सक्ने आयोजकले जनाएको छ । बिरामीले प्रयोगशाला परीक्षण गर्नुपरे छुटको व्यवस्था मिलाइएको बताइएको छ ।
शिविरमा हाडजार्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.प्रकाश बहादुर थापाले सेवा दिनेछन् । मेरुदण्डसम्बन्धि समस्या धेरै मानिसमा देखिन थालेको र यससम्बन्धि समस्याले विभिन्न पेशाका व्यक्तिलाई प्रभावित पारेको भन्दै डाक्टर थापाले लापरवाही नगरी विशेषज्ञलाई देखाउन सबैमा आग्रह गरेका छन् ।
कुनै कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुने हुँदा समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी रहेको भन्दै डा.थापाले नि:शुल्क शिविरमार्फत यसको फाइदा लिन आग्रह समेत गरेका छन् । डा.थापा ‘Association Of Spine Surgeon Of Nepal’ को लुम्बिनी र कर्णाली प्रदेश संयोजक समेत हुन् ।
उनले मेरुदण्ड समस्याको चेतना बृहतरुपमा फैलाउन नेपालगन्जमा चैत्रको पहिलो साता कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिएका छन् ।










