काठमाण्डौ:महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रवार यहाँ आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी बजेट ल्याउने उहाँको भनाइ छ ।
सरोकारवाला निकाय र विज्ञहरुले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औंल्याएकाले सरकारले अगामी बजेट, नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुगाउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको बताउनुभयो ।










