कैलाली: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । अहिले सम्म माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने निर्णय गरेका छन् ।
सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबीच असमझदारी बढ्दै जाँदा त्यसको प्रभाव प्रदेश सरकार देखी प्रधानमन्त्रीको विश्वासको मत सम्म परेको छ ।
रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् । उनी पुरानै गठबन्धनको पक्षमा छन् । यता रन्जिता चौधरी भने नयाँ गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरिसकेको बताउँछिन् ।
प्रदेशमा पनि रेशम-रञ्जिताको असमझदारीले सरकार जोगिने कि नजोगिने अन्योलमा परेको छ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिताको निर्देशन थियो । तर, संरक्षक रेशमले भने धनगढीमै बसेर सरकार विस्तारको गृहकार्य गरे ।
मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वका सरकारमा सहभागी भएका मन्त्रीहरूले पार्टीसँग कुनै सल्लाह नगरेको र पार्टीको नीति विपरीत सरकारमा सहभागी भएको भन्दै रञ्जिताले तत्काल मन्त्रीबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन फिर्ता दिन निर्देशन दिइन् ।
तर, रेशमले आफ्नो निवास बर्दियामा ४ मन्त्रीलाई बोलाउँदै तत्काल सरकारको समर्थन फिर्ता नहुने र मन्त्रीबाट पनि हट्न नहुने भन्दै राम्रो काम गर्न निर्देशन दिए ।
काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान पछि उनीहरूबीच थप असमझदारी बढेको देखियो । अध्यक्ष रञ्जिताले सोमबार काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिन् ।
स्वास्थ्यमा समस्या आएपछि त्यो बैठक बस्न सकेन । यता टिकापुरमा ज्येष्ठ सदस्य पण्डितको उपस्थितिमा बैठक बस्यो त्यो बैठकमा अध्यक्ष रन्जिता उपस्थित भइनन् । तर, २१ मध्ये १६ सदस्य बैठकमा उपस्थित भएको दाबी गरिएको छ ।
उक्त बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गर्दा त्यसको भोली पल्टै अध्यक्ष रन्जिताले काठमाडौँमा प्रचण्ड सरकारलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिन् ।