बाँके\पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले विपक्षी नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाइन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
च्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश किरण कुमारी गुप्ताको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा सार्वजनिक सरोकारको बिषय भएकोले गाम्भीर्यताको आधारमा विपक्षीहरुलाई झिकाई छलफलमा भाग लिनका लागि २०८० चैत्र १४ गतेका लागि सुनुवाईको पेशी तोकेका हुन् ।
वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, अधिवक्ताहरु विकास आचार्य, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा र नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले विमानस्थल व्यवस्थापनका विषयमा संयुक्त रुपमा रिट दर्ता गराएका थिए ।
सो रिटमा विमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, विमानस्थलमा सामान ओसार्ने ट्रलीको कमी, हवाईजहाजले यात्रुलाई दिने सेवा सुविधा गरेको कटौती लगायतका बिषय समेटिएका छन् ।
मुद्दामा रिट निवेदक अधिवक्ताहरुका साथै अधिवक्ताहरु केवल सिंह थारु, सुनिलराज शर्मा, हिरा श्रेष्ठ लगायतले बहस गरेका थिए ।









