नेपालगञ्ज :नेपालगञ्ज उपमहानगरपालिकाले मासु पसलहरुको अनुगमनलाई निरन्तरता दिएको छ । आइतबार पनि मासु पसलहरुको अनुगमन गरिएको छ । वडा नम्बर १ का आधा दर्जन मासु पसलमा अनुगमन गरिएको हो । त्यस अघि शुक्रबार वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुमगन गरिएको थियो । पशु सेवा शाखाले स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर १ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरेको शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । तालिम लिएपछि ब्यवसायीहरुले त्यसलाई व्यवहारमा कति लागू गरेका छन् भनेर बुझ्न अनुगमन गरिएको शाहीको भनाई छ ।
पाराहान केसी फ्रेस हाउस, थापा मासु पसल, आदित्त फ्रेस हाउस, पोखरेल फ्रेस हाउस र एस.एम. फ्रेस हाउसमा अनुगमन गरिएको हो । धम्बोझी क्षेत्रका ती मासु पसल अनुगमन गरिँदा कतिपयले साइनबोर्ड समेत राखेका छैनन् भने अधिकांशमा मूल्यसूची छैन । एउटा पसल दर्ता समेत नगरेको पाइएको छ ।
कतिपय पसलमा सरसफाईको कमी समेत देखिएको छ । त्यस्ता पसललाई सजग बनाइएको छ । सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई ब्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखा प्रमुख शाहीले बताइन् ।