१५ मंसिर २०८१, शनिबार

नेपालगन्ज रंगशालामा न्युनतम शुल्कमै स्वीमिङ सुविधा लिंदै सर्वसाधारण
  • न्युज मानसराेवर

नेपालगन्ज : गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषदको पौडी पोखरीमा चहल–पहल बढेको छ । विशेषगरी बिदाको दिन यहाँ धेरै भिडभाड हुन्छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा २०७५ सालमा पौडी पोखरी निर्माण गरिएको थियो । उक्त प्रतियोगिता सञ्चालनका क्रममा खेलाडीलाई प्रतिस्पर्धा गराउनका लागि बनाइएको पोखरीलाई अहिले ब्यवसायिक रुपले सञ्चालन गर्न थालिएको हो ।

राष्ट्रिय खेलकुद परिषदले पौडी खेल्नका लागि सर्बसाधारण नागरिकलाई (स्वीमिङ कस्टम) बाहेक प्रतिब्यक्ति २ सय रुपैयाँ, राष्ट्रिय खेलाडीलाई एक सय रुपैयाँ तथा सामुहिक रुपमा आउने बिद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको छ । यस्तै अन्तर्राष्ट्रिय खेलाडीबाट भने शुल्क लिइदैन ।

गर्मी छल्नका लागि रंगशालामा अचेल दैनिक रुपमा करिव १ सय ५० जनाको हाराहारीमा पौडी खेल्न आउने गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । हरेक दिन बिहान ८ बजेदेखी बेलुका ७ बजेसम्म पौडी पोखरी सञ्चालन भइरहेको उनले बताए ।

चालु सिजनका लागि गत चैत महिनाबाट पौडी पोखरी नियमित रुपमा सञ्चालन भएको चन्दले सुनाए । पौडी खेल्नका लागि विभिन्न बिद्यालयका बिद्यार्थीहरु भने निश्चित तालिका अनुसार आउने गरेको उनले बताए । बिद्यार्थीलाई पौडी खेलाउन केही बिद्यालयले सम्झौता गरेका छन्, भने कतिपयले सम्झौता गर्ने क्रममा छन् । सरकारी पौडी पोखरी भएकाले होटलमा जस्तो यहाँ सर्बसाधारणले महंगो शुल्क तिर्नु पर्दैन ।

पौडी पोखरीमा जडिट उपकरणले नियमित रुपमा पानी शुद्धिकरण गर्ने गरेको कार्यालय प्रमुख चन्दले बताए । ‘हामी कहाँ पानी फिल्टर गर्ने उपकरण जडित छन्,  पौडी पोखरी सञ्चालन गर्नका लागि २ जना प्रशिक्षकसहित ४ जना कर्मचारीलाई खटाएको छौं,’ चन्दले भने ‘पौडी पोखरी सञ्चालनमा खटिएका कर्मचारीलाई हामीले आन्तरिक स्रोतबाट तलब खुवाउँछौं ।’

अन्तर्राष्ट्रिय मापदण्डमा बनेकौ पौडी पोखरीमा सस्तो शुल्कमा पौडी खेल्न पाइने भएकाले टाढा-टाढाबाट पनि सर्बसाधारण आउने गरेको कार्यालयले जनाएको छ । पौडी खेल्न नेपालगन्ज रंगशाला पुगेका बाँके, फत्तेपुरका प्रदिप पौडेलले अन्यत्र भन्दा एकदमै सस्तो शुल्कमा राष्ट्रिय खेलकुद परिषदले पौडी खेल्ने सुविधा दिएको बताए ।

‘म यहाँ पौडी खेल्न आएको २/३ पटक भईसक्यो, शुल्क नै सस्तो छ,’ उनले भने ‘अन्यत्र होटलमा एक जनाको मात्रै ६/७ सय जति खर्च हुन्छ, यहाँ त स्वीमिङ कस्टम सहित ३ यस रुपैयाँ मात्रै पर्दो रहेछ,’ उनले भने । पौडी पोखरीको पानी सफा रहेको र फिल्टर हुने गरेको पौडेलले सुनाए । @dursanchar

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech