भरतपुर :भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
उहाँले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताउनुभयो । आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए ।
चितवनको भरतपुर महानगरपालिका–२०, दद्रेनीमा स्मल हेभेन इङ्लिस बोर्डिङ स्कुल बस आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लिएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले स्कुल बसमा आगजनी गरेको खुलेको हो। अनेरास्ववियु (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफ्ना कार्यकर्ताले गराएको स्वीकार गरेका छन्।
भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरको बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार बिहान आगजनी गरेका थिए। बिहान करिब ८ः०० बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा तीन वटा मोटरसाइकलमा आएका ६ जना व्यक्तिले बस रोकेर आगो लगाएका हुन्।
बसमा रहेका विद्यार्थी र स्टाफलाई उतार्दै मोबाइल नियन्त्रण लिएर बसमा आगो लगाइ भागेको बसका चालकले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए। घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ नपरेको चितवन प्रहरीले जनाएको छ।