१४ मंसिर २०८१, शुक्रबार

बाँके-बर्दियामा विपन्न लक्षित ‘तातो हावा’ परियोजना सुरु
  • न्युज मानसराेवर

बाँके:बाँके र बर्दियामा विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन ‘तातो हावा परियोजना’ सुरु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र बर्दियाको गुलरिया नगरपालिकामा ४५ दिने परियोजना सुरु भएको हो ।

१७ मे २०२४ देखि सुरु भएको तातो हावा परियोजना १ जुलाई २०२४ सम्म लागू हुनेछ । स्टार्ट फण्ड नेपालको सहयोगमा बाँके युनेस्को क्लब र कतार च्यारिटीले परियोजना संचालन गरेका हुन् । अपांगता, दलित, सीमान्तकृत, विपन्न, एकल महिला, अपांगता भएका व्यक्ति भएको परिवार, गर्भवती महिला र दूध चुसाउने आमालाई लक्षित गरी परियोजना संचालन गरिएको बाँके युनेस्को क्लबका परियोजना प्रमुख साजिद अली सिद्दिकीले बताए ।

अत्याधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगिन सामाजिक सचेतना जगाउन परियोजना संचालन गरिएको हो । विद्यालय र घरधुरी छनौट गरेर विभिन्न क्रियाकलाप संचालन गरिने बाँके युनेस्को क्लबले जनाएको छ । बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान तथा समुदायस्तरमा अति विपन्न र जोखिममा रहेका परिवारलाई खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिने बाँके युनेस्को क्लबकी विनिता आरसीले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा संचालन गरिने क्रियाकलापका बारेमा जानकारी दिन आज छलफल गरिएको छ । ‘स्थानीय सरकार र सरोकारवालाबीच समन्वय वैठक र परियोजना सम्बन्धि जानकारी तथा छलफल कार्यक्रममा परियोजना प्रमुख सिद्दिकीले छात्रा बढी भएका दुई वटा विद्यालय छनौट गर्ने, ५०० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर प्रदान गर्ने, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान लगायतका क्रियाकलाप संचालन गर्ने जानकारी दि । यस्तै विपन्न ३०० परिवार छनौट गरी खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिनेछ ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech