१४ मंसिर २०८१, शुक्रबार

अत्याधिक गर्मिले बाँकेको जनजीवन प्रभावित

आइतबार बाँकेको अधिकतम तापक्रम ४०.५ डिग्री, सोमवार १४ गते ३९.९ डिग्री र मङ्गलबार ४१.६ डिग्री पुगेको थियो

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लाको रुपमा परिचित बाँकेमा केही दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी भएको जल तथा मौसम विभाग कार्यालय कोहलपुरले जनाएको छ।

मौसम विभागका कार्यालयका प्रमुख रामविकेश रायले बाँकेको नरैनापुर र नेपालगन्जमा मंगलवार यो वर्षकै सबैभन्दा बढी अर्थात ४१.६ डिग्री तापक्रम पुगेको बताए। उनले जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकोले बुधवार, बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने सम्भावना रहेकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन ।

जेठ १८ गतेसम्म तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको जनाउँदै जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रायले बुधबार तापक्रम ४२ डिग्री नाघ्ने सम्भावना रहेको अनुमान गरेका छन।

जल तथा मौसम विभाग कार्यालय कोहलपुरका अनुसार आइतबार बाँकेको अधिकतम तापक्रम ४०.५ डिग्री, सोमवार १४ गते ३९.९ डिग्री र मङ्गलबार ४१.६ डिग्री पुगेको थियो।

अत्यधिक गर्मीका कारण बाँकेमा सबैभन्दा बढी प्रभावित मजदुर, रिक्सा चालक र खुला ठाउँमा काम गर्ने श्रमिकहरु भएका छन्। चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन्।

नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाईले गर्मी बढ्दा र तातो हावा लु चलिरहेकोले बढी भन्दा बढी पानी खान आग्रह गर्दै झोलिलो खानेकुरा बढी खान तथा अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेका छन।

गर्मीसंगै विद्युत नियमित नहुँदा आम नागरिक ठुलो सास्ती खेप्न बाध्य भएका छन्। प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र धेरैबेरसम्म नआउने हुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका हुन।

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दाहरु विद्युत अपूर्ति असहज हुँदा झन समस्यामा परेको बताउछन । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गतसाता आएको हावाहुरीले २५० बढी पोल ढलेपछि समस्या भएको बताए। साता अघि आएको हावाहुरीले ठुलो क्षति पुगेपछि विद्युत वितरणमा समस्या भएको उनको भनाइ छ।

  • १६ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech