अछाम: अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ ।
पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प भएको स्थानीय भरत साउदले जानकारी दिनुभयो ।
अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको छ । अहिलेसम्म ३ वटा खसालिएको र बाँकी खच्चड पनि खसाल्न तार काटिँदै गरिएको उहाँले जानकारी दिनुभयो । तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको अरु उपाय सम्भव नभएको उहाँले बताउनुभयो ।
साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।