कोहलपुर,बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ७ नन्कौपुरस्थित पोखराथान गौशालाबाट गाईहरू एकाएक हराएका छन । यसरी एकाएक हराएका गाईहरु कहाँ पुगे दुई दिन विति सक्दा पनि पत्ता भने लाग्न सकेको छैन ।
यहि सोमबार राती मन्दिरको गौशालामा रहेका करिब ४५ वटा गाईहरू हराएको मन्दिरका पुजारी राजकुमार चौधरीले जानकारी दिंदै भने “मन्दिरको गौशालामा करिब ४५ वटा गाईहरू थिए, बिहान आफै चर्नका लागि बाहिरतिर जाने र दिनभरि चरेर साँझ परेपछि आफै गौशालामा गाई आउने गरेका थिए ।” ‘‘सोमबार साँझ पनि गाईहरू चरेर फर्के, तर मङ्गलबार बिहान गौशालामा एउटा पनि गाई थिएन, राति नै कसैले चोरेर लग्यो ।”
मन्दिरभित्रको खुल्ला क्षेत्रमा गाईहरू रातीमा आएर बस्ने गरेको बताउदै चौधरीले गाई हराएको विषयमा आफूले स्थानीयबासीसँग छलफल गरेको तर प्रहरी प्रशासनमा कतैपनि खबर नगरेको बताएका छन । उनले स्थानीयहरु नै मिलेर गाईको खोजतलास गरिरहेको बताएपनि अहिले सम्म गाई कहाँ छन भन्ने वारे उनीहरु बेखवर रहेका छन ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष शोभाराम मौर्यले गत वैशाख १० गतेसम्म गाईको संरक्षण गरी सुरक्षा प्रदान गर्दै आए पनि वैशाख १० गतेपछि भने समितिले गाईको सुरक्षा तथा संरक्षणमा ध्यान नदिएको आरोप लगाएका छन । उनले गाउँमा रहेका छाडा तथा खुल्ला गाईहरूलाई गौशालामा ल्याएर राखेर स्थानीयद्वारा पैसा तथा अन्न उठाएर गाइको रेखदेखका लागि गाई हेरालु राखिएको तर पछि गाउँलेहरूले अन्न तथा पैसा उठाउन छाडेपछि गाई हेरालु पनि गएपछि बेवारिसे जस्तो अवस्थामा गाईहरू रहेको जानकारी दिएका छन ।
“गाउँमा कता कता बाट छाडा गाईहरू जम्मा हुन लागे, गाउँलेले लगाएका अन्नबाली खाएर नष्ट गर्न लागे, गाउँलेहरू भेला भएर दुई वर्षअघि मन्दिरमै छाडा गाईहरू राख्ने भनेर निर्णय गरियो र व्यवस्थापन समिति पनि गठन भयो ।,” अध्यक्ष मौर्यले भने, “दुई वर्षसम्म गाउँलेहरूले पैसा तथा अन्नबाली उठाए, त्यसैबाट गाई हेर्नका लागि दुई जना गोठाला पनि राख्यौँ, बिहानदेखि साँझसम्म गोठालाले गाईहरू चराउन लैजाने र साँझ गौशालामा ल्याउने गरेका थिए, तर त्यसपछि गाउँलेले पैसा तथा अन्नबाली उठाउन छाडेपछि गोठालाहरू पनि गए, हामीसँग अन्य खर्च बेहोर्ने बाटो थिएन, त्यसपछि गाईहरू बेवारिसे जस्ता भएका थिए ।”
स्थानीयहरूले गाई चोरले रातीको समयमा गाईलाई भारततर्फ लगेर बिक्री गरेको हुन सक्ने आशङ्का गरेका छन् । तत्कालीन फत्तेपुर गाविसका उपाध्यक्ष स्थानीय लालीप्रसाद यादवले रातीको समयमा गाउँबाट तीन जना मान्छेले गाईलाई खेदेर भारततर्फ लगेको एक स्थानीयले आफूलाई बताएको जानकारी दिए । उनले गाई चोरले भारत लगेर गाईलाई बिक्री गरेको हुनसक्ने आशङ्का समेत ब्यक्त गरेका छन ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले गाईलाई व्यवस्थित रूपले राख्नका लागि गौशाला व्यवस्थापनका लागि प्रदेश सरकारबाट दुई लाख ५० हजार रुपियाँको बजेट यस आर्थिक वर्षमा विनियोजित भए पनि व्यवस्थापन समिति क्रियाशील नहुँदा कार्यान्वयनमा नआएको बताए ।
उनले प्रदेश सरकारले मन्दिरको गौशालाको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकामार्फत दुई लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको तर व्यवस्थापन समिति सम्झौतासमेत गर्न नगएका कारण कार्यान्वयनमा समस्या आएको बताए ।
गाउँमा छाडा छोडिएका गाईहरूले गाउँलेका अन्नबाली नोक्सान गर्न थालेपछि गाउँलेहरू आफै मिलेर गौशाला व्यवस्थापन समिति गठन गरी गाईको संरक्षण गर्दै आएको तथा हाल आएर गौशाला व्यवस्थापन समितिले हेर्न छाडेपछि गाईहरू बेवारिसे जस्तो बनेको अध्यक्ष थारुको भनाई छ । गाई तस्करले रातीको समयमा चोरी गरी भारततर्फ नै लगेर बिक्री गरेको हुन सक्ने अध्यक्ष थारुले समेत आशङ्का गरेका छन ।