बाँके:पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ ।अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापक्रमका कारण रक्तदान हुने क्रम घटेपछि हाल आएर रगत अभाव झनै चर्किएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
उनले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पुर्याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न ग्रुपका १५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको बताए । उनले खासगरी चाड पर्वका बेला र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेकाले रगतको माग पूरा गर्न नै हम्मे हम्मे परेको उल्लेख गरे ।
रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ । बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय पनि लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । कुनै ठुलो घटना दुर्घटना भइहालेमा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको सो केन्द्रका प्रमुख रेग्मीले बताए । उनले भने , ‘‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’’
रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक पटक आह्वान गर्ने गरिएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्ने सक्ने क्षमता विस्तार गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताए । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि १०० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत सङ्कलन हुने गरी रक्तदान पनि आवश्यक रहेको छ ।