कोहलपुर,बाँके:बाँके जानकी गाउँपालिका करमोहनाका किसान राम सागर पासी शुक्रबार धानको ब्याड राखेको खेतमा पहरा दिंदै थिए । उनले रोपेको धानका ब्याड सबै सकुसल भने थिएनन् । खेतमा धाँजा फाटेको थियो । घरपालुवा जनावरबाट जोगाउन ताराबार गरेर रोपिएको ब्याड कुरिरहेका उनले भने, ‘किसानलाई खेतीपाती सहज छैन ।’ उनले अनुदानको मल, बिउ उपलब्ध नहुँदा पनि किसान मर्कामा रहेको उनी बताउँछन् । ‘कम्तिमा सरकारले खेती गर्नेका लागि मल, बिउ र सिंचाईको व्यवस्था गर्दिए निकै सहज हुन्थ्यो’, पासी भन्छन् ।
बाँकेमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाईबाट नगर बिस्तार हुँदै गएको छ । जिल्लाको अधिकांस खेतीयोग्य क्षेत्रमा सिचाईंको पहुँच बढिरहेको छ । तर, कतिपय ठाउँमा नहर रहेपनि पानी नपुग्दा अहिले पनि आकाशे पानी वा बोरिङ्गको भर पर्नुपर्ने बाध्यता रहेको छ ।
‘उ हेर्नुस् त्यहाँ सिक्टाको नहर त पुगिसकेको छ, तर पानी आउँदैन, बीचमै नहर फोहोरले जाम हुँदा पानी नआएको हो’, पासीले करिब ४ सय मिटर पर रहेको नहर देखाउँदै भने, ‘बोरिङ्गको पानीले बियाड राखेका छौं ।’
सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो ।
करमोनाहनाका अर्का किसान मुन्नबर अली शेषले सिंचाईको सुविधा नपाएपछि आफैले खेतमा बोरिङ्ग गाडेका छन् । उनी दिनभर ब्याड कुर्न चर्को घाममा खेतमै बस्छन् । ‘छाडा छाडिएका जनावरबाट ब्याड जोगाउन कुर्नैैपर्छ, राती घर जाँदा बोरिङ्ग मोटर लिएर फर्किन्छु, यसअघि एउटा बोरिङ्ग मेसिन चोरी भएपछि घर लिएर जाने गरेको हुँ’, उनले भने ।
‘जेठको दोस्रो साता पछि बियाड नराख्ने र समयमा रोपाई नगर्ने हो भने भदौं, असोजमा पानी नपर्न सक्छ’, शेष भन्छन्, ‘यसले उत्पादन लागत बढ्छ, धान खेती गर्दाको परीश्रम र खर्च उठाउन नै गाह्रो पर्छ ।’ खेतमै भेटिएकी किसान गिता पासीले समयमा ब्याड नराख्ने हो भने पछि मजदुरी निकै महंगो तिर्नुपर्ने बताउँछिन् । ‘समयमा बियाड नराख्ने र रोपाई नगर्ने हो भने हामीलाई धान खेती निकै महंगो पर्छ’, उनले भनिन् ।
‘थोरै भएकाले अकाशे पानीको भरमा पछि बियाड राख्न फरक नपर्ला तर १२÷१५ विगाह रोप्नका लागि ढिलो हुँदा मजदुरी महंगिदै जान्छ’, पासीले भनिन् ।
करमोहना मात्रै होइन आकाशे पानीको भरमा रोपाई गर्ने अन्य ठाउँका किसान पनि खेतीको समयमा पानी नपर्ने हो भने चिन्तत हुन्छन् । ‘खडेरीले खेत सुकेको छ, ब्याडका लागि बोरिङ्गको पानी जोहो गर्दा पनि खर्च बढ्छ’, किसान मन्साराम यादवले भने, ‘जेठ बितिगयो, पानी नपर्दा ब्याड राख्न सकेको छैन ।’
आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी बताउँछन् । ‘धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, उनले भने, “समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन् ।’ बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले बताउँछन् ।
बाँकेमा ३६ हजार ५ सय हेक्टरमा खेतीपाति हुने गरेको थियो । तर, अहिले त्यो क्षेत्रफलमा बिस्तारै कमी आउन थालेको छ । किसानले तरकारी लगायतका अन्य खेतीमा बढवा दिंदा धान र गहुँ खेतीमा कमी आउन थालेको बताइन्छ । ‘खेतीयोग्य क्षेत्रफल घट्दै गएपनि र उत्पादकत्व बढ्दै गएको पाएका छौं’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले भने । उनले बाँकेमा ३४ हजार हेक्टरमा खेती हुने गरेको अनुमान गरिएको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमद जेठ महिना सकिएपछि किसान ब्याडका लागि आत्तिहाल्नु नपर्ने बताउँछन् । ‘असार १५ गतेसम्म ब्याड राखेर रोपाई गर्दा पनि उत्पादनमा कमी आउँदैन’, उनले भने । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले चर्को गर्मीका बेला बोरिङ्गबाट ब्याड राखे त्यसलाई जोगाउन किसानलाई निकै चुनौति हुने बताउँछन् । ‘ब्याडलाई आवश्यकता अनुसार पानी नियमित राख्नु पर्छ, खेतमा पानी तालिए दिउँसोको घामका कारण तात्ने पानीले ब्याडलाई नोक्सान पुग्न सक्छ’, उनले भने । ‘असार पहिलो साता पानी पर्न सक्छ, त्यसैले किसान आत्तिहाल्नु पर्दैन, तर एउटा किसानले ब्याड राख्दा अर्को आत्तिने भएकाले पनि छिटो ब्याड राख्न खोजेको देखिन्छ’, अहमदले भने, ‘ढिलाई हुँदा रोपाईमा मजदुरी महंगो पर्ने चिन्ता पनि किसानमा पाएका छौं ।’