भरतपुर: पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ–नौविसे सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।
रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो ।
इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । राति सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।