कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगरमा विगत तीन महिनादेखि खानेपानीको धारामा पानी नआएपछि त्यहाँका स्थानियहरु प्रताडित भएका छन । साँझ विहान प्रयोगमा आउने पानीको संकट भएपछि स्थानिय खगेन्द्र शाहिले विगत ५ दिनदेखि सबै आफनो लागतमा ड्रममा पानी राखेर वितरण गर्दै आएका छन । उनले ट्र्याक्टरमा पानीको ड्रम राखेर पानी नै नपाएका उपभोक्ताहरुलाई पानी वितरण कार्य शुरु गरेका छन । त्यसो त शिक्षा, स्वास्थ्य, पानी, बत्ति जस्ता आधारभुत जन अधिकारवारे स्थानिय सरकार जवाफदेहि हुनुपर्ने भएपनि स्थानिय सरकारले कोहलपुरमा पानीकालागि दिर्घकालिन योजना भने अगाडि सार्न सकेको छैन ।
कोहलपुर १० पुर्वि विद्यानगरमा पनि पानी आपुर्ति हुन नसकेको धेरै भयो । छिमेकीका घरबाट पानीको जोहो गर्ने गरेका छौं स्थानिय विनोद सामन्तले न्युज मानसरोवरलाई भने । त्यसो त गर्मिको मौसममा पानीको सतह सुक्दै जानु र माग उच्च हुनुले पनि आपुर्तिमा समस्या आएको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाले वताउने गरेको छ । पानीका पाईपहरुमा चुना जमेर पनि पानीको अवरोध हुन पुगेको खानेपानीको जिकिर छ ।
खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले पनि खानेपानीको सङ्कट चुलिँदै गएको वताउछन कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेक नारायण भुसाल । हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको छ अध्यक्ष भुसालको भनाई रहेको छ ।
अत्यधिक गर्मीका कारण खानेपानीको माग दिनदिनै बढ्दै गए पनि मागका आधारमा पानी पुरयाउन नसकिँदा पानीको ठुलो सङ्कट उत्पन्न भएको बताउदै संस्थाका अध्यक्ष भुसालले संस्थाले अहिले उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको बताउछन । भुसालले भने “विविध कारणले यो याममा पानीको माग अत्यधिक बढेको छ तर दुई तीन महिनापछि पानीको माग ह्वात्तै घटेर आधाआधीमा आउने गरेको छ ।” यो समयमा सबै उपभोक्तालाई पानी पुरयाउन हम्मे हम्मे परेको उनको भनाई छ ।
स्थानीय अगुवा चेतनारायण भट्टराईका अनुसार कोहलपुरमा प्रत्येक दिन उपभोक्ताको सङ्ख्या बढिरहेको छ तर पानीको स्रोत भने आवश्यक मात्रामा बढ्न नसक्दा समस्या चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाको तथ्याङ्क अनुसार कोहलपुरमा अहिले खानेपानीका करिब पाँच हजार सात सय उपभोक्ता छन् । अन्य वर्षमा भन्दा यस वर्ष कोहलपुरमा पानीको सङ्कट बढी देखिएको छ । लामो समयसम्म पानी पर्न नसक्नु र अत्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोत सुक्नुले पनि समस्या बढेको देखिएको छ ।
भूमिगत स्रोतबाट पानी सङ्कलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाले पानी पुरयाउन नसकेपछि वितरणको समयमा केही कटौतीसमेत गरेको छ । अध्यक्ष भुसालले भने, “अन्य सिजनमा हामी बिहान ५ घण्टा र बेलुकी ५ घण्टा पानी वितरण गथ्र्यौं तर यतिबेला तीन घण्टा मात्र वितरण गर्दै आएका छौँ । कुनै लाइनमा बिहान र कुनैमा बेलुकी पनि पानी छोड्दै आएका छौँ ।”
यही समयमा व्यक्तिका ह्यान्डपम्प र अन्य पानीका स्रोत सुकेकाले पनि खानेपानीमा माग ह्वात्तै बढेको हो। कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल कोहलपुरका सात वटा वडामा खानेपानी वितरण गरिरहेको छ । जसमध्ये सबैभन्दा बढी उपभोक्ता ११ नम्बर वडाका छन् ।
त्यसै गरी वडा नम्बर १ र २ का लागि नौ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेर त्यसै क्षेत्रका जनतालाई पानी वितरण गर्ने योजनामा पनि आफूहरू रहेको अध्यक्ष भुसालले जानकारी दिए । त्यसका लागि नेपाली सेनाको ब्यारेकको पछाडि १५ कट्टा दुई धुर जग्गा प्राप्त गर्ने काम अन्तिम चरणमा रहेको भुसालको भनाई छ ।