कोहलपुर,बाँके:प्राकृति विपद्का घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भारी वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरोबाट ८ जनाको, चट्याङबाट ५ जना र बाढीबाट १ जना गरेर १४ जनाको मृत्यु भएको हो ।
यस्तै अबिरल बर्षाका कारण ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ थुम्की स्थित एक गोठ पहिरोले पुरिदा ३५ वर्षका एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने जमजुङको दोर्दी गाउँपालिका ९ धैरेनी स्थित एक घरमाथि पहिलो आएर घरभित्र सुतिरहेको अवस्थामा पहिरोले पुरिएर १८ वर्षका एक पुरुष घाईते भएकोमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।
यस्तै सुनसरीको रामधुनी नगरपालिका ४ मानपुर बस्ने ३० वर्षका एक पुरुष खेतमा आली काट्दै गर्दा वर्षासँगै परेको चट्याङ लागेर घाईते भएर उपचारका लागि बिराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको छ भने रोल्पाको सुनछहारी गाउँपालिका ३ बाहिरी गाम दाङजा बस्ने २२ वर्षका एक महिला १४ वर्षको नन्दसँगै सुतिरहेको अवस्थामा चट्याङ लागेर २ जनाकै मृत्यु भएको छ ।
यस्तै प्राकृतिक विपद्मै परेर पछिल्लो २४ घण्टामा १० जना घाइते भएका छन् भने २ जना वेपत्ता भएका छन् । जसमा पहिरोमा परेर ५ जना, चट्याङबाट ३ जना, बाढीबाट एक जना र जनावर आक्रमणबाट एक जना गरेर १० जना घाइते भएका हुन् ।
२ जना भने बाढीमा परेर बेपत्ता भएका प्राधिकरणका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ओखलढुंगा चिसंखुगढी गाउँपालिका ५ सेर्नाथुम्कीमा पहिरोमा परेर घाइते भएका २ जनालाई सकुशल उद्दा रगरी हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
प्राधिकरणले मंगलबार बिहान १० बजेदेखि बुधबार बिहान १० बजेसम्म पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा ४४ वटा विपद्का घटना भएकोमा जसबाट प्रारम्भिक अवस्थामा १९ लाख ५ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ भने १४ वटा पशु चौपायाको मृत्यु भएको छ ।