नरैनापुर,बाँके: बाँकेको नरैनापुर गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा भएको छ । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनिका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता दिगोपना घोषणा गरिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताउनु भयो ।
पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सूक्ष्म योजना, दिगोपनाको योजना बनाउने र पूर्ण खोप सुनिश्चितताको लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्य रहेको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको भनाई थियो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इशितयाक अहमद शाहले चेतनाको कमी भएको पालिकामा मानिसको घर घर पुगेर अभियान नै चलाई यो सफलता हासिल गर्न सकिएको बताउनु भयो । उहाँले पालिकाले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्य सम्बन्धी हरेक आवश्यकता सहजै प्राप्त गर्ने वातावरण बनाउन लागिपरेको जिकिर गर्नु भएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धि दिलाउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यक माग पूरा गर्न पालिकाको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ६ अध्यक्ष प्रेम मौर्य, डब्लु.एच.ओ.का प्रतिनिधिहरू डा. प्रस्तुती शर्मा, सरला न्यौपाने, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।