८ मंसिर २०८१, शनिबार

जानकी गाउँपालिकाको ६८ करोड २७ लाखको बजेट पारित

असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण दुई साता ढिला

  • न्युज मानसराेवर

जानकी,बाँके:बाँकेको जानकी गाउँपालिकाले ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँको आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट पारित भएको छ ।

अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको ब्रिफकेस हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गरकी थिइन् । त्यसअघि अध्यक्ष खाँको अनुमतिमा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताए ।

जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सबैभन्दा बढी वडा स्तरीय योजना (पूर्वाधार तथा चालु) तर्फ ५ करोड ४८ लाख, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नीति कार्यक्रममाथिको छलफलमा प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंहले भाग लिएका थिए । सभाको सञ्चालन कर्मचारी राजेन्द्र प्रसाद बाजपेयीले गरेका थिए । असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण जानकीले दुई साता ढिला गरी ल्याएको हो ।

  • २७ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech