कोहलपुर,बाँके: मनसुनी वर्षासँगै मनसुनजन्य रोगको संक्रमण बढ्न थालेको छ । अझ पछिल्लो समय परेको अविरल वर्षाले त झनै जोखिम बढाएको चिकित्सक बताउँछन् । बाँके जिल्लाका विभिन्न अस्पतालबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।
वर्षाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छाला सम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू बढ्न थालेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले जानकारी दिए । उनले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता भेरी अस्पतालमा आउने क्रम बढेकाले सचेत रहन सबैलाई आग्रह गरे ।
“यस्तो बेला उमालेको वा क्लोरिन हालेर सफा पारेको पानी मात्र पिउनु पर्छ । त्यसैगरी सडेगलेका तथा बासी खाना खान हुँदैन । फलफूल तथा तरकारी शुद्ध पानीले सफा गरेर मात्र खानुपर्छ,’ उनले भने ।“ नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले केही दिनयता वर्षाका कारण लाग्ने रोगहरू झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम बढेको जानकारी दिए । उनले मनसुनजन्य रोग लागेका बिरामीहरू दैनिक सय भन्दा बढीको सङ्ख्यामा अस्पतालमा उपचारका लागि पुगिरहेको बताए ।
नेपालगन्ज, खजुरा, राँझा र कोहलपुरका पनि विभिन्न अस्पताल र क्लिनिकहरूले पनि वर्षा सुरु भएसँगै मनसुनजन्य रोगका बिरामीहरू अस्पताल आउने क्रम बढेको जनाएका छन् ।